१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनर्निर्माणको काम आरम्भ गरिएको छ। पाँच करोड २० लाख रुपैयाँमा पोखरीको पुनर्निर्माण हुनेछ। निर्माणका लागि सुजनराज जेभीलाई २०८२ असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ। पोखरीको पुनर्निर्माण ३० असोज २०८३ भित्र सक्नुपर्नेछ।

“हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ‚” पुनर्निर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापति भन्छन्‚ “मौलिकता र सांस्कृतिक पहिचान, पुनर्निर्माणका मुख्य आधार हुन्। विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ।’

पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापति भन्छन्‚ “पहिले छेउमा कम गहिराइ थियो। जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो। त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो। यसप्रकारको गहिराइले दिने रौनकता छुट्टै थियो। त्यो स्वरुप बिग्रिएर अहिले पौडी पोखरीजस्तो भएको छ। पोखरीभित्र छिर्नेबित्तिकै डुब्ने गरीको पानी छ। यो त्रुटि हो। यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बीचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ।’

सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा महानगरपालिकाको यो महत्त्वपूर्ण योजना रहेको सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईको भनाइ छ । उनी भन्छिन्‚ “महानगरपालिकाको लगानीबाट सहरले प्राचीन स्वरुप प्राप्त गर्दै छ। यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ।”

योजनाका फोकल पर्सन वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन्। त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ।

पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ। त्यसको बाहिर कालोपत्रे सडक छ। यसको बाहिर दक्षिणतर्फ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ। दक्षिण-पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ। यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ। जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ।

यस ठाउँलाई पूर्वलिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानका रुपमा लिइन्छ। सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्वलिच्छविकालका मन्दिरहरु भएको प्रमाण पाइन्छ।

इसापूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन्। लिच्छविकालमा स्थापना भएको मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुबर्माको बडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रका इतिहास हुन्।