१८ कार्तिक २०८२
अ+
अ-

दोहा। ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने क्रममा दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज (मंगलबार) शिष्टाचार भेट गरेका छन्।

भेटमा अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जनाए।

राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसंघसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताए।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी २१ फागुनमा आमनिर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गरे। उनले यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनाका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

नेपालले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताडित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको राष्ट्रपतिको भनाइ थियो।

“सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभएजस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्। तर तीव्र गतिमा हिउँ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ‚” उनले भने।

राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू हुन् भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी पनि दिए। राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।