काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

क्रिकेट

लिग-२ को वर्तमान अंक तालिकामा अन्तिम दुईमा रहेको नेपाल एकदिवसीय मान्यता गुमाउने जोखिममा

१८ कार्तिक २०८२
लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाली टोली। तस्बिर : क्यान
अ+
अ-

२०२३ को आईसीसी क्रिकेट विश्वकप लिग-२। १२ खेलमा ११ जितको आँकडा।

लगातार जित हात पार्दै लिग-२ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेटको अद्भुत क्षणमध्ये एक थियो त्यो। त्यही नतिजाले नेपालले चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता मात्रै जोगाएन, विश्वकप छनोटसम्ममा आफ्नो स्थान सुरक्षित बनायो। तर, ठीक दुई वर्षपछि नेपाली टोलीले त्यो लय निरन्तर गुमाउन थालेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली टोलीको प्रदर्शनले पनि यसलाई छताछुल्ल बनाएको छ। लगातार तीन खेलमा हार बेहोरेको नेपाल संकटोन्मुख परिस्थितिमा बुधबार अन्तिम खेलमा घरेलु टोलीविरुद्ध भिड्दै छ।

नेपाली क्रिकेट टोलीका पूर्व लेगस्पिनर राजकुमार प्रधान भन्छन्, “एक समय नेपाली खेलाडीले यो फर्म्याटमा राम्रो गर्न सक्छौँ भन्ने आत्मविश्वास देखाएका थिए। तर, अहिले त्यो आत्मविश्वास लगातार गुमाइरहेको देखिन्छ। यसले टोली नै संकटमा परेको छ।”

पहिलाको उत्कर्ष, अहिलेको अवरोध

२०२६ सम्म चल्ने लिग-२ को नयाँ साइकलमा अहिलेसम्म नेपालले १९ खेलमा पाँच जित, १२ हार र दुई नतिजाविहीनसहित १२ अंक जोडेको छ। आधाभन्दा बढी खेल खेलिसक्दा टोली सातौँ स्थानमा छ। दुई वर्षअघि जबर्जस्त पुनरागमन गर्दै शीर्ष तीनमा स्थान बनाएको टोलीका लागि यो असामान्य मानिन्छ।

त्यसबेला पाँचौँ स्थानमा रहेर साइकल सकाएको अमेरिका अहिले ३६ अंकसहित शीर्षस्थानमा छ। स्कटल्यान्ड ३० अंकका साथ दोस्रो र नेदरल्यान्ड्स २८ अंकसहित तेस्रो स्थानमा छन्। नेपालभन्दा माथि ओमान, क्यानडा र नामिबिया छन् भने तल यूएई (८ अंक) मात्र छ।

यस अंकतालिकाले नेपाललाई विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गर्न मात्रै होइन, ओडीआई मान्यता जोगाउन पनि कठिन पर्ने देखाउँछ। “बलिङ र ब्याटिङ दुवैमा अनुशासन चाहिन्छ। तर, अहिले त्यो देखिँदैन। ब्याटरले ग्राउन्ड सट खेल्न सकेको देखिँदैन। अर्कातर्फ बलिङमा पनि पहिलाको जस्तो धार छैन। क्रिकेटमा चाहिने दुई हतियार नै ट्रिगर नभएपछि विपक्षीलाई घाइते पार्ने त कुरै भएन नि!” प्रधान भन्छन्।

सबैभन्दा धेरै अर्थात् १८ इनिङ्समा ब्याटिङ गरेका कप्तान रोहितकुमार पौडेलले यस साइकलमा एक शतक र दुई अर्धशतकसहित ४२९ रन बनाएका छन्। तर, उनको औसत २६.८१ मात्रै छ, जुन यो फर्म्याटमा असाध्यै कमजोर मानिन्छ। उनीभन्दा चार खेल कम खेलेका ओपनर आरिफ शेखले तीन अर्धशतकसहित सबैभन्दा धेरै ४३३ रन बनाएका छन्। ३६.०८ को औसत भएका उनी राम्रा ब्याटर त कहलिएका छन्, तर यी दुईको तुलना १७ इनिङ्समा एक हजार ३७ रन बनाएका स्कटल्यान्डका जर्ज मुन्से र उनीभन्दा पाँच इनिङ्स मात्रै बढी खेल्दै एक हजार १६ रन बनाएका अमेरिकाका मिलिन्द कुमारको प्रदर्शन हेर्दा आकाशपातालकै फरक देखिन्छ।

मध्यक्रम सम्हालिरहेका आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झासँगै ओपनर कुशल भुर्तेलको औसत पनि नाजुक छ। दुई वर्षअघि प्रायः खेलमा ‘म्याच विनर’ बनेका लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा आफ्नो लय समाउन सकेका छैनन्।

अमेरिकाविरुद्धको खेलमा सन्दीप लामिछाने। तस्बिर : क्यान

सबैभन्दा बढी अर्थात् १२८ ओभर बलिङ गरेका उनले ६३३ रन दिँदै जम्मा २२ विकेट लिएका छन्। २८.७७ को औसतमा बलिङ गरेका उनको प्रदर्शन कमजोर नै देखिन्छ। एकदिवसीयमा बलिङमा २० मुनिको औसत राम्रो मानिन्छ।

उनीबाहेक मुख्य पेसरद्वय सोमपाल कामी र करण केसी पनि आफ्नो लयमा छैनन्। अहिले नेपाली टोली कुशल भुर्तेल, गुलसनकुमार झा, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलजस्ता ‘पार्ट टाइम बलर’ को भरमा चलिरहेको छ। जुन निराशाजनक रहेको पूर्वबलर सञ्जम रेग्मी बताउँछन्। “ब्याटरको काम ब्याटिङ र बलरको काम बलिङ गर्ने हो, जब ब्याटरले दुवै काम गर्नुपर्छ तब राम्रो प्रदर्शन गर्न सक्दैन। अहिले भएको त्यही हो। कसको के जिम्मेवारी भन्ने पनि स्पष्ट छैन अनि कसरी नतिजा दिऊन् त?” उनी भन्छन्।

नेपाली खेलाडीले आफ्नो प्रदर्शनमा पुनरागमन गर्ने संकेत दिन भने छाडेका छैनन्। सन् २०२४ मा लिग- २ अन्तर्गत घरेलु मैदानमा भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपालले त्यसपछि नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान र अमेरिकासँग भएका खेलमध्ये धेरैमा फराकिलो हार बेहोर्‍यो।

ओमानसँग एक खेल रद्द हुँदा १०औँ खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा फर्किने प्रयास नगरेको होइन। तर, पुनः अमेरिकासँगको हारले नेपाललाई अंकतालिका सुधार गर्ने मौका दिएन।

यद्यपि, स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेट तथा १६ रनले हराउँदै प्रतियोगितामा नेपालले १२ अंक पुर्‍याएको थियो। १० जुन २०२५ मा नेदरल्यान्ड्सविरुद्धको जितपश्चात् नेपालले अपवादबाहेक न त्यस्तो जुझारु खेल पस्किएको छ, न जित नै हात पारेको छ। त्यसैले अहिले नेपाललाई प्रतियोगितामा पुनरागमन गर्न ठूलो चुनौती छ।

कठिन बाटोतिर नेपाल

अघिल्लो संस्करणजस्तै नेपालको लक्ष्य लिग-२ मा उत्कृष्ट पुनरागमन गर्ने रहेको छ। त्यसका लागि खेल पनि बाँकी छन्। तर, अबको बाटो अझै कठिन देखिन्छ।

नेपालले लिग-२ मा शीर्ष चारमा स्थान बनाए सिधै विश्वकप छनोट खेल्न पाउनेछ। यो छनोट खेल पछिल्लोपटक जिम्बावेमा खेलिएको जस्तै हुनेछ। लिग-२ मा शीर्ष चारभित्र अटाउन नसके प्ले-अफ खेल्नुपर्ने हुन्छ। यो प्ले-अफ च्यालेन्ज लिगबाट आउने शीर्ष चार र लिग-२ बाट झरेका चार टोलीबीच हुनेछ। त्यसपछि अर्को एउटा छनोट चरण पार गरेर मात्र विश्वकप छनोटमा पुग्न सकिन्छ।

लगातारको खराब प्रदर्शनका कारण ओडीआई मान्यता पनि अहिले चासोको विषय बनेको छ। ओडीआई मान्यता नगुमाउन नेपाल लिग-२ को ‘बटम टु’ मा पर्नु हुँदैन। ‘बटम टु’ मा परेमा अर्को प्रतियोगिताको शीर्ष दुईमा रहँदै छनोट चरण पार गर्नुपर्छ। यस प्रतियोगितामा लिग-२ को पुछारमा रहने र च्यालेन्ज लिगबाट आएका टोलीलाई प्रतिस्पर्धा गराइन्छ।

हाल नेपाल पुछारको दुईमा रहेकाले ओडीआई मान्यता गुम्ने अवस्था खतरा रहेको नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर तथा पूर्वक्रिकेटर विनोद दास बताउँछन्। पुछारको दुईमा रहेमा नेपालले अर्को प्रतियोगिता जितेर आउनुपर्ने चुनौती थपिने उनको भनाइ छ।

अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेका नेपालका कुशल भुर्तेल। तस्बिर : क्यान

नेपालले यसअघि दबाबपूर्ण अवस्थामा उत्कृष्ट प्रदर्शन गरेको उदाहरण छ। यद्यपि, हरेक वर्ष यसरी दबाबमा जित्नुलाई रणनीतिक योजनाका रूपमा हेरिँदैन। “सधैँ १२ मा ११ जितिन्छ भन्ने हुँदैन। क्रिकेट भनेको प्रदर्शनले जितिने खेल हो। अहिले स्थिति नाजुक नभए पनि टोली खतरामा भने अवश्य छ,” दास भन्छन्।

यो अवस्था सुधार्नका लागि नेपालले आगामी वर्ष घरेलु मैदानमा लिग-२ अन्तर्गतै त्रिकोणात्मक शृंखला खेल्नेछ। यी शृंखलामा लगभग आठ खेल हुनेछन्। घरेलु मैदानमा दर्शकको पनि साथ रहने भएकाले जित्ने आशा रहेको दास बताउँछन्। यद्यपि, पछिल्लो लिग-२ को प्रदर्शन त्यति सुखद थिएन। नेपालले नामिबियासँग चार तथा दुई र नेदरल्यान्ड्ससँग आठ विकेटको हार बेहोरेको थियो।

“तर, उच्च प्रतिस्पर्धात्मक स्तरमा गल्ती नगर्ने सम्भावना एकदमै कम हुन्छ। नेपालले नराम्रो खेलेको होइन, तर गल्ती गरिरहेकाले नै अहिलेको अवस्था आएको हो। अब स्थिति सुधार्नका लागि जितको विकल्प छैन,” उनी भन्छन्।

क्रिकेटमा नेपाल ‘फाइटर’ टोलीका रूपमा चिनिन्छ। जसलाई पुनः प्रमाणित गर्ने समय आएको छ। आगामी खेलमा अंक मात्र होइनन्, आत्मविश्वास फिर्ता ल्याउने चुनौती छ।