काठमाडौँ। चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको गणेशस्थानमा आज (मंगलबार) यो चलचित्रको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्।
चलचित्र नामअनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रस्ट्याएको छ। पाँच पाण्डव महाभारतका केन्द्रीय पात्र हुन्। त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ।
चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को-को हुन् भन्ने प्रस्ट पारिएको छैन। तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ।
निर्माणपक्षले दिएको जानकारीअनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन्। चलचित्रका अन्य केही कलाकारहरू छनोट हुन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन्। पटकथा तथा संवाद पनि उनकै छ। पौडेल ‘प्रसाद’ पनि लेखक हुन्।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता कालीरानी श्रेष्ठ हुन्। हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ।

“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो। हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउनेछौँ,” उनले भने, “हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउनेछौँ।”
यसअघि गत वर्ष नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए। केही महिनाभित्र छायांकन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलीप पन्त छन्।
