अस्पताल प्रशासनले भन्यो- क्यान्टिन सञ्चालक परिवर्तन भएको छ‚ मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउँछौँ

१८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता अनुगमन गरेको छ।

अनुगमनका क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो। हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको क्यान्टिनमा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, कीटनाशक नियन्त्रण व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएकोलगायत अनियमितता भेटिएका थिए।

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिन सञ्चालकले व्यवसाय दर्तासमेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो।

ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जंगमले भने, “अहिले क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको छ। हामी संरचना मर्मत, रङरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउनेछौँ।”

खाद्य स्वच्छतामा लापरबाही : ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द, महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन

तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्यान्डस् अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए। तर दुवै क्यान्टिनमा पनि पेस्ट कन्ट्रोल (कीटनाशक नियन्त्रण) को व्यवस्था सन्तोषजनक नभएको बताइएको छ।

मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो। अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई कीटनाशक नियन्त्रण व्यवस्था प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो।

त्यस्तै हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि, खाद्य रङको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ।

महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटेल, रेस्टुरेन्ट तथा क्यान्टिनको अनुगमन गर्दै आएको आएको छ।

हेर्नुहोस् थप तस्बिर :