काठमाडौँ। सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना गर्ने पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी रजिस्ट्रारको कार्यालय कास्कीले ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ तीन पैसा हिनामिना भएको भन्दै हिजो (मंगलबार) कारबाहीका लागि पत्राचार गरेपछि कास्की प्रहरीले आज (बुधबार) उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अध्यक्ष गोदारसहित उपाध्यक्ष शम्भुराज बास्तोला, कोषाध्यक्ष हीरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव तथा सदस्य इन्द्रप्रसाद द्वा छन्।
उनीहरुलाई सहकारी ठगीअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार सहकारी ठगीमा संलग्न अन्यको पनि खोजी भइरहेको छ।