१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आम निर्वाचनभन्दा अगाडि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्।

बैठकमा पहिलो वक्ताको रूपमा बोल्दै उनले नेतृत्व परिवर्तन गरेर, नयाँ र ताजा नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका हुन्।

“नियमित महाधिवेशन गर्न सकिन्न भने ५४ % महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बमोजिम बिशेष महाधिवेशनमा जानुपर्छ। यसमा दायाँबायाँ गरेर अलमल्याउन पाइन्न,’ उनले भने।

सहमहामन्त्री मन्सुर संस्थापन पक्ष निकट मानिन्छन्। उनले संस्थापन पक्षले बैठकमा वैशाखमा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव आफूलाई मान्य नभएको बताए।

“म पनि गत महाधिवेशनमा संस्थापन पक्षबाट नै विजयी भएको हुँ। तर वैशाखमा महाधिवेशन, संस्थापन पक्षको प्रस्ताव भनेर मिडियामा आएको कुरामा मेरो सहमति छैन,” उनले थपे।

सहमहामन्त्री मन्सुरले यो गुट वा त्यो गुटले नभई प्रस्ताव ल्याउने काम महामन्त्रीहरूको भएको पनि बताए।