दृष्टिकोण
कोसी शब्द पनि पाउरोटी वा जेन-जी पुस्ता भनेजस्तै छुट्टाछुट्टै भाषामा पानी वा खोला बुझाउने ‘को’ र ‘सी’ शब्द मिलेर बनेको हो भन्न सकिन्छ।
ल्याटिन वर्णमालाको पुछारमा रहेको वर्ण (लेख्य चिह्न) Z वा z हो। अंग्रेजी generation (र यसको छोटो रूप gen) को अर्थ पुस्ता हो। यसैले Gen Z भनेको Z पुस्ता हो। अहिले नेपालीमा सञ्चारमाध्यममा यसै अर्थमा ‘जेन-जी’ शब्द देखिएको छ। जेन-जीको साटो नेपालीमा ‘पुछारको पुस्ता’ वा ‘पछिल्लो पुस्ता’ भन्न पनि सकिएला। सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्ति यस पुस्तामा पर्छन्। यस पुस्तालाई डिजिटल वातावरणमा जन्मेको पुस्ता (डिजिटल नेटिभ) भनिन्छ। नेपाली श्रव्य-दृश्य माध्यममा भने ‘जेन-जी’ कै अर्थमा ‘जेन-जी पुस्ता’ प्रयोग भएको देखिन्छ।
यो लेखमा नेपालमा भर्खरै जेन-जीसँग जोडिएर जे जे भयो त्यसबारे होइन, नेपाली समाजमा पुस्ता वर्गीकरण गर्दा ठ्याक्कै त्यही उमेर समूह त्यही विशेषतायुक्त छ कि छैन भन्नेबारे पनि होइन, बरु नेपालीमा थपिएको त्यही पदावली ‘जेन-जी पुस्ता’ र यस्तै थप केही शब्दबारे चर्चा गरिएको छ।
बाइरोडको बाटो – अंग्रेजीको ‘बाइ रोड’ को अर्थ ‘सडक हुँदै’ वा ‘सडकबाट’ (बस, ट्रक आदि चढेर वा पैदलै) भन्ने हो। ‘…को बाटो’ ले पनि कुनै खास ठाउँ हुँदै भन्ने बुझिन्छ।
ल्याटिन वर्णमालाका दुई अक्षर G/g र Z/z लाई नेपालमा क्रमशः /ʤi/ र /zed/ भनिन्छ। नेपालमा अंग्रेजी शिक्षा सुरु भएदेखि नै बेलायती अंग्रेजीको प्रभाव रह्यो र त्यो अझै कायम छ। पछिल्लो समय भने अमेरिकी अंग्रेजीको प्रभाव बिस्तारै बढ्दै छ। /ʤi/ र /zed/ बेलायती अंग्रेजी हो। अमेरिकी अंग्रेजीमा तिनलाई क्रमशः /ʤi/ र /ziː/ भनिन्छ। नेपाली भाषाको /ज/ अंग्रेजीको /ʤi/ को जस्तो, अंग्रेजीको /zed/ वा /ziː/ को जस्तो र संस्कृतको /ज/ जस्तो पनि होइन।
नेपाली कानले यस्ता ‘ज्’ को फरक सजिलै छुट्याउँदैन र अंग्रेजीका /ʤi/ र /ziː/ नेपालीका लागि एउटै /जि/ हुन्छ। यसैले धेरै नेपालीलाई ‘जेन-जी’ भन्दा ‘जेन-जेड’ बुझ्न सजिलो हुँदो हो। यो पुस्ता आफै भने बेलायती होइन, अमेरिकी अंग्रेजीको प्रभावमा भएको हुनाले जेन-जेड भनिन चाहँदैन होला।
‘जेन-जी’ कि ‘जेन-जी पुस्ता’?
जेन-जी भनेको जेनेरेसन जी वा जेनेरेसन जेड, जेड ल्याटिन वर्णमालाको पुछारको वर्ण, त्यसैले जेन-जी भनेको पुछारको पुस्ता भयो। ‘जेन-जी पुस्ता’ भनेको ‘जेनेरेसन जी पुस्ता’ वा ‘पुस्ता जी पुस्ता’ भयो। यसलाई नेपाली भाषाको पदक्रम अनुसार मिलाउँदा ‘जी पुस्ता पुस्ता’ वा ‘पुछारको पुस्ता पुस्ता’ हुन्छ। यहाँ पहिले अंग्रेजीमा र त्यसपछि नेपालीमा आएर ‘पुस्ता’ शब्द किन दोहोरिएको होला? अर्थ नबुझेर त अवश्य होइन। प्रयोग गर्न असजिलो लागेर हो कि? मसँग जवाफ छैन तर नेपालीमा यस्ता शब्द थुप्रै छन्।
पाउरोटी – पोर्तुगाली भाषामा ‘पाँओ’ भनेको रोटी हो। ‘पाउ’ यसैबाट आएको हो। त्यसैले पाउरोटी भनेको रोटी रोटी भने जस्तै हो तर यसले रोटी मात्र बुझाउँछ, एक खालको रोटी।
गुरुङसेनी – गुरुङ भाषामा ‘गुरुङ’ शब्दले पुरुष बुझाउँछ भने त्यसमा स्त्री बुझाउन ‘से’ थपिन्छ। यो नेपाली भाषामा स्त्री बुझाउन ‘इ’ वा ‘नी’ (बाहुनी, मगर्नी आदि) थपे जस्तै हो। त्यसैले ‘गुरुङसे’ मा थपिएको ‘नी’ बोझ मात्र हो।
बाइरोडको बाटो – अंग्रेजीको ‘बाइ रोड’ को अर्थ ‘सडक हुँदै’ वा ‘सडकबाट’ (बस, ट्रक आदि चढेर वा पैदलै) भन्ने हो। ‘…को बाटो’ ले पनि कुनै खास ठाउँ हुँदै भन्ने बुझिन्छ। यो दोहोरो प्रयोगले त्रिभुवन राजपथ नामको हेटौँडाबाट नौबिसेसम्मको बाटो बुझाउँछ, अरू जुनसुकै बाटो बुझाउँदैन।
एकभन्दा बढी भाषाका पानी वा पानीको स्रोत बुझाउने शब्द समयक्रममा एउटै बनेर ठाउँको नाम बुझाउने शब्द नेपालीमा थुप्रै छन्।
थोराङ्ला पास वा थोराङ्ला भन्ज्याङ – मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको भन्ज्याङको नाम थोराङ हो भने शेर्पा भाषामा ‘ला’ भनेको भन्ज्याङ हो। ‘थोराङ्ला’ भनेको थोराङ भन्ज्याङ हो। अंग्रेजी pass शब्दको अर्थ पनि भन्ज्याङ हो। यसैले ‘ला’ पछि फेरि ‘भन्ज्याङ’ वा ‘पास’ थप्नु दोहोरो प्रयोग हो।
क्याप टोपी – अंग्रेजी क्याप र नेपाली टोपीको अर्थ उही हो। क्याप टोपी भनेको टोपी टोपी भनेजस्तै हो तर क्याप टोपी भन्दा पाली गाँसेको टोपी मात्र बुझिन्छ, अरू खालको टोपी बुझिँदैन।
नेपालीमा यसरी दोहोरिएर केही विशिष्ट अर्थ दिने वा मूल अर्थमा केही नथपी बोझ मात्र बनेर प्रयोग हुने यस्ता थुप्रै शब्द छन्। त्यस्ता शब्दमा स्थान नामको संख्या सायद सबैभन्दा धेरै छ र तिनमा पनि खोला बुझाउने शब्दको।
कोसी : स्थाननामका रूपमा पानी र पानीका स्रोत
कोसी पूर्वी नेपालबाट दक्षिणतिर बग्ने ठूलो नदीको नाम, त्यसै नदीका थुप्रै सहायक नदीका नामसँग जोडिने नदी बुझाउने शब्द, नेपालको अघिल्लो प्रशासनिक संरचनामा अञ्चलको नाम र वर्तमान प्रशासनिक संरचनामा प्रदेशको नाम हो। प्रदेशको नामको रूपमा यसले त्यस प्रदेशका बासिन्दाको पहिचान झल्काउँदैन भन्ने असन्तुष्टि पनि छँदै छ।
प्रदेशको नाम कोसी हुनु ठिक कि बेठिक भन्ने यस लेखको सरोकारको विषय होइन। अझ ‘कोसी’ (वा ‘कोशी’) शब्द संस्कृतको ‘कौशिकी’ शब्दबाट विकास भएको हो भन्ने कुरामा त झन् यो कौशिक गोत्रीय लेखकलाई पत्यार पनि छैन। बरु कोसी शब्द पनि पाउरोटी वा जेन-जी पुस्ता भने जस्तै छुट्टाछुट्टै भाषामा पानी वा खोला बुझाउने ‘को’ र ‘सी’ शब्द मिलेर बनेको हो भन्न सकिने भाषिक आधार यहाँ प्रस्तुत गरिएको छ।
नेपालका अनेकौँ भाषामा पानी र पानीका स्रोतबाट ठाउँको नाम रहेको पाइन्छ। तातोपानी, चिसापानी, कुवापानी, धारापानी, घोडेपानी, सुकेपोखरी, कटुवाल दह, धौखोला जस्ता स्थाननाम नेपालीमा अनेकौँ छन् र नेपालका अरू भाषामा पनि छन्।
अझ रोचक त एकभन्दा बढी भाषाका पानी वा पानीको स्रोत बुझाउने शब्द समयक्रममा एउटै बनेर ठाउँको नाम बुझाउने शब्द नेपालीमा थुप्रै छन्। खासगरी खोलाका नाममा यस्तो विशेषता राम्ररी देख्न पाइन्छ। सवा, संखुवा, लेगुवा, हेवा आदि शब्दको ‘वा’, कोड्कु, मुड्कु जस्ता शब्दको ‘कु’, बेल्खु, बल्खु, सिखु जस्ता शब्दको ‘खु’, खुसी, कोसी जस्ता शब्दको ‘सी’, मादी, मर्स्याङ्दी, दरौँदी जस्ता शब्दको ‘दी’, आँधी शब्दको ‘धी’, भेरी शब्दको ‘री’ विभिन्न भाषामा पानी वा खोला बुझाउने शब्द हुन् भने यी शब्द अंशका रूपमा जोडिएका सबै शब्द खोला बुझाउने शब्द हुन्। यी शब्दले आफै खोला बुझाउने भए पनि नेपालीमा भने यी शब्दपछि ‘खोला’ वा ‘नदी’ शब्द थपिन्छ अनि यस्ता वाक्य बन्छन्: ‘सभा खोला र संखुवा खोलाको नामबाट संखुवासभा जिल्लाको नाम रहेको हो’, ‘हेवा खोलाको पुल बाढीले बगायो’, ‘बल्खु खोलामा बाढी आयो’, ‘आँधी खोलो उर्ल्यो’, आदि।
यस्ता नाममा कुन कुन भाषाका शब्द छन् भन्ने मात्र होइन, तिनको क्रम के छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। ‘वा’ लिम्बू भाषामा, ‘कु’ खालिङ भाषामा, ‘खु’ थुलुङ भाषामा, ‘दी’ वा ‘डी’ मगर ढुट भाषामा, ‘री’ मगर खाम भाषामा पानी बुझाउने शब्द हुन् भने ‘खोला’ नेपाली भाषाको शब्द हो (एकभन्दा बढी भाषामा पानी वा खोला बुझाउने उही शब्द पनि हुन सक्छ, यहाँ उदाहरणको रूपमा एउटा भाषा मात्र लिइएको छ)। यसैले माथि भनिएका सबै खोलाका नाममा कुनै न कुनै भाषाको खोला बुझाउने शब्द छ र त्यसमा फेरि नेपालीको खोला शब्द थपिएको छ।
‘कु’ र ‘खु’ खोला बुझाउने शब्द भएपछि त्यो ‘को’ हुनु धेरै कठिन कुरा होइन, ‘सि’ खोला बुझाउने शब्द स्थापित भएकै छ। यसै आधारमा भन्न सकिन्छ – ‘कोसी’ पनि किराँती भाषाका पानी वा खोला बुझाउने दुई शब्द मिलेर ‘खुसी’ जसरी नै बनेको हो।
नेपाली मातृभाषी पश्चिमबाट पूर्वतिर सर्दै गएको ऐतिहासिक तथ्य छ। यसको अर्थ माथि उल्लेख गरिएका विभिन्न भाषा बोल्ने मानिस ती ठाउँमा पहिले थिए वा पुगेका थिए र तिनले त्यहाँका खोलाका नाम राखिसकेपछि मात्र नेपालीभाषी ती ठाउँमा पुगे भन्ने हो। यसरी स्थाननाममा पछि थपिएको उही अर्थ बुझाउने शब्दले त्यो भाषा बोल्ने मानिस त्यस ठाउँमा पछि पुगेका हुन् भन्ने आधार दिन्छ।
स्थाननाममा उही अर्थ दिने दुईभन्दा धेरै भाषाका शब्द पनि पाइएका छन्। रिडी खोला र सिखु खोला यस्ता उदाहरण हुन्। ‘री’ मगर खामको र ‘डी’ मगर ढुटको खोला बुझाउने शब्द हो। रिडी खोलो मगर खाम र मगर ढुट भाषाको सीमातिर पर्छ। यो नामको आधारमा मगर खामभाषीले त्यस खोलाको नाम राखेपछि मगर ढुटभाषी त्यहाँ पुगेर आफ्नो भाषाको खोला बुझाउने शब्द ‘डी’ थपे अनि नेपालीभाषीले पनि ‘खोला’ शब्द थपिदिए भन्न सकिन्छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा २०५४ सालमा प्रकाशित नेवार-नेपाली-अंग्रेजी शब्दकोशमा ‘खुसि’ शब्दको अर्थ ‘नदी’ दिइएको छ। बल्खु, साँखु आदि खोलाका नाममा ‘सी’ छैन ‘खु’ मात्र छ। त्यसो भए ‘सी’ के हो त? सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा सिखु नामको खोलो छ र त्यस क्षेत्रमा कुलुङ, थुलुङ, खालिङ, बाहिङ भाषा बोलिन्छन्। ‘खु’ थुलुङ भाषाको पानी बुझाउने शब्द हो। बाहिङ किरात मुलुखिमले २०८० सालमा प्रकाशित गरेको बाहिङ-नेपाली-अंग्रेजी शब्दकोशमा पनेलो भन्ने अर्थमा ‘सिङ सिङ’ शब्द छ।
पनेलो शब्दको आधार पानी हुने हुँदा पानी बुझाउने शब्द ‘सिङ’ द्वित्व भएर (दोहोरिएर) पनेलो (पानी पानी वा पानी धेरै भएको) अर्थमा प्रयोग हुनु स्वाभाविक छ। यस आधारमा ‘सि’ बाहिङ भाषाको पानी वा खोला बुझाउने शब्द हो भन्न सकियो। माथिकै आधारमा सिखु खोलाको नाम पहिले बाहिङले दिए त्यसपछि थुलुङले र त्यसपछि नेपालीभाषीले आ-आफ्ना शब्द थपे भन्न सकिन्छ। यसको ठिक उल्टो ‘खुसि’ मा चाहिँ पहिले ‘खु’ भन्ने समूहले नाम दिए त्यसपछि ‘सि’ भन्ने समूहले थपे।
‘कु’ र ‘खु’ खोला बुझाउने शब्द भएपछि त्यो ‘को’ हुनु धेरै कठिन कुरा होइन, ‘सि’ खोला बुझाउने शब्द स्थापित भएकै छ। यसै आधारमा भन्न सकिन्छ – ‘कोसी’ पनि किराँती भाषाका पानी वा खोला बुझाउने दुई शब्द मिलेर ‘खुसी’ जसरी नै बनेको हो। यसैले कोसी, पाउरोटी र जेन-जी पुस्ता भाषामा स्वाभाविक प्रवृत्ति हो, नेपालीमा मात्र होइन अन्यत्र पनि।