१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन्।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देब्रेहाते फास्ट बलर नटराजन उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन्। मूलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै एक हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए। काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो।

विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा नटराजन त्यसबाट उत्कृष्ट खेलाडी बनेका थिए। प्रशिक्षक शाही, दक्षिण एसियाली खेलकुदमा करातेबाट दोहोरो स्वर्ण पदक जितेका एवं काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर मन्देकाजी श्रेष्ठ र बागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले नटराजनलाई गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ बनेको घोषणा गरेका थिए। नटराजनले अब काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल् छन्। उनले त्यसबापत एक लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्।

दोस्रो चरणको ६० खेलाडीबाट काठमान्डु गोर्खाजले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो। आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ। अथर्व पौडेल, शार्दूल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्टबाट छनोट गरेको हो।

डेभलपमेन्ट टोलीका प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने र उनीहरुले एनपीएल अवधिभर गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए। डेभलपमेन्ट टोलीलाई काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर नेपाली फुटबल टोलीका सदस्य विकेश कुथू, भलिबलकी राष्ट्रिय खेलाडी पुनम चन्द, होटेल व्यवसायी संघका सचिव अनिश बानियाँ, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरेका थिए।

त्यस्तै क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट ११ टोली बनाएको छ। यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दिवस क्षेत्री, नीतेश कुमार, राकेश चौरसिया, दिवस कुँवर र युगान्त कार्की छनोट भएका छन्।

यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ट्यालेन्ट हन्ट कार्यक्रममा सुरुआत गरेका थिए।

क्यान सचिव पारस खड्काले १२ दिन बाँकी रहेको समयमा एनपीएलको तयारी तीव्र गतिमा भइरहेको र यसले नेपाली क्रिकेटलाई मजबुत बनाउने बताए। उद्घाटन समारोहमा क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतले एनपीएलले खेलाडीलाई ठूलो अवसर बनाइदिइरहेको जनाएका थिए ।