काठमाडौँ। आईसीसी विश्वकप लिग-टूअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा यूएईसँग नेपाल ४ विकेटले पराजित भएको छ। नेपालको यो लगातार चौथो हार हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी शृंखलामा अमेरिका र यूएईसँगका दुवै खेलमा नेपाल पराजित भएको हो। अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको नेपाल यूएईसँग पहिलो खेलमा पाँच विकेट र आज (बुधबार) को खेलमा चार विकेटले पराजित भयो।
शृंखलाको चौथो तथा अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो। यूएईले ४९ ओभरमा ६ विकेट गुमाउँदै जित आफ्नो पोल्टामा पार्यो।
यूएईका लागि मोहम्मद साहदादले १२३ बलमा सर्वाधिक ९६ रन बनाए। उनले ६ चौका र ३ छक्का हिर्काए। त्यस्तै मोहम्मद वासिमले ७३ बलमा ७६ रन बनाउँदा सोहइव खानले २९ रन बनाए। वासिम र साहदादले १४० बलमा १४७ रनको साझेदारी गर्दै यूएईलाई जित दिलाए।
नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल विकेटविहीन रहे।
पहिलो इनिङ्समा नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउँदा कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाएका थिए।
हारपछि नेपाल २० खेलमा १२ अंक जोड्दै आठ टिम सहभागी लिगमा सातौं स्थानमा छ। २० खेलमा १० अंक जोडेको यूएई पुछारमा छ। अमेरिका २४ खेलमा ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। यो लिगबाट शीर्ष ३ स्थानमा रहने टोलीले अर्को चार वर्षलाई एकदिवसीय मान्यता जोगाउनेछ।