१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन गर्नै नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकको बुधबारको बैठकमा शाहीले विशेष महाधिवेशन गर्न नहुने धारणा राखे।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाए पनि शाहीले त्यसमा शंका गरे।

“विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ,” उनले भने, “मैले बुझेको विशेष महाधिवेशन भनेको हाम्रो समय हुँदाहुँदै नेतृत्व सक्षम भएन भनेर हटाएर अर्को ल्याउने भन्ने कुरा होला। आज त हाम्रो करिब-करिब सबै समय अवधि सकिएको अवस्था छ।”

कांग्रेसमा फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने विवाद छ। यसैमा केन्द्रित भएर महामन्त्री गगनकुमार थापाले पुसमा र सह-महामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

“एकले अर्कालाई हामीले ध्वाँस दिने, धम्काउने तर्साउने मात्र कुरा गरिरहेका छौँ,” उनले भने, “यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ।” आफूले गरेको दुईवटा प्रस्तावको बीचबाटै समाधान खोज्नुपर्नेमा केन्द्रीय सदस्य शाहीले जोड दिए।