अत्यावश्क कार्य घरभित्रै बसेर गर्न चिकित्सकको सल्लाह
नयाँदिल्ली। दिल्लीमा वायु प्रदूषका कारण श्वासप्रश्वासजन्य रोगहरू जस्तै- रुघाखोकी, दम र आँखाबाट पानी बग्ने, नाकबाट सिँगान बग्ने रोगहरूबाट पीडित बिरामीको सङ्ख्या बढेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँदिल्लीका अस्पतालहरू विगत केही दिनदेखि त्यस्ता बिरामीले भरिएका छन्। दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक ‘खराब’ श्रेणीमा रहेको जनाइएको छ।
वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा सडकमा पानी छर्कने‚ दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्नेजस्ता विभिन्न उपाय गरिरहेका छन्।
प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार “दिल्लीमा प्रदूषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन्। डाक्टरहरूले प्रदूषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन्।”
दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिनकुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषणसम्बन्धी रोगबाट पीडित बिरामीको सङ्ख्या २२-२५ प्रतिशत रहेको बताएका छन्।
“वायु प्रदूषणका कारण दिल्लीका बासिन्दा प्रभावित भएको उल्लेख गर्दै बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा धेरै जोखिममा रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरुले दिल्लीका बासिन्दालाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घरभित्रै बसेर गर्न सल्लाह दिएका छन्।