नतिजाका लागि कार्यक्रम कार्यान्वयन पूर्वअवस्था, कार्यान्वयन र योजना सम्पन्न हुने अवस्थाको अनुगमन हुन्छ : सुनीता डंगोल

२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले विभाग, सचिवालय, आयोग, एकाइ र वडा कार्यालयबाट २०८२ असोज मसान्तसम्मको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक सुनीता डंगोलको अध्यक्षतामा आज (बिहीबार) बसेको बैठकले कात्तिक मसान्तसम्ममा असोज मसान्तसम्मको विवरण माग गर्ने निर्णय गरेको हो।

स्वीकृत वार्षिक कार्ययोजना सबै बजेट कार्यान्वयन एकाइले योजना अनुगमन तथा मूल्याङ्कन एकाइमा पठाउनु पर्नेछ। बैठकले वार्षिक बजेट, योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रयोग गरिने सूचकसहितको फाराम स्वीकृत गरेको छ।

बैठकमा उपप्रमुख डंगोलले, योजना कार्यान्वयन हुने स्थान र अवस्थाबाट अनुगमन कार्य प्रारम्भ गर्ने योजना रहेको बताइन्। “योजना कार्यान्वयन पूर्वअवस्था, कार्यान्वयन चरण र निर्माण भएपछिको अवस्थाको चक्रबाट अनुगमनले नतिजा दिन सक्छ‚” उनले अनुगमन कार्ययोजना निर्माण गर्दा ध्यान दिन आग्रह गरिन्।

प्रशासनिक संयन्त्रबाट भइरहेका कामका विषयमा आफूले नियमित निगरानी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए। बैठकमा निर्माण कार्य सुरु गर्नुअघि निर्माण सामग्री ल्याउने अनुमति, कार्यतालिकाअनुसारको काम, कार्यतालिका परिवर्तन गर्नु परे औचित्य विश्लेषण, श्रम, सर्त तथा बन्देज, पैदलयात्रीसहित उपभोक्ताप्रतिका दायित्वका विषयमा छलफल भएको थियो। यस्तै निर्माण सकिएपछिको निश्चित समयमा भएको क्षतिको दायित्व निर्माण पक्षमा रहने विषयमा पनि छलफल भएको थियो।

बैठकमा समितिका सदस्य सचिव गंगाधर गौतमले अनुगमन गर्दा प्रयोग गरिने फाराममा राखिएका सूचकका विषयमा प्रस्तुति गरेका थिए।

अनुगमन टोली
यस वर्ष स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरुको अनुगमन गर्नका सहरी योजना आयोगका सदस्यहरुको संयोजकत्वमा तीनवटा टोली गठन गरिएका छन्। अनगुमन तथा मूल्याङ्कन समितिको असोज २७ गतेको निर्णयअनुसार टोली गठन गरिएका हुन्।

डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास, आर्टिटेक्ट बाबुराम भट्टराईको संयोजकत्वमा सम्पदा तथा भौतिक पूर्वाधार, प्रसुनरत्न बज्राचार्यको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली गठन गरिएको छ।

सुशासन तथा सामाजिक समितिलाई प्रशासन, सामाजिक विकास, स्वास्थ्य‚ सहरी व्यवस्थापन, कृषि तथा पशुपन्छी, सम्पदा तथा पर्यटन (पूर्वाधार निर्माणबाहेकका काम) र सूचना प्रविधि विभाग, सहरी योजना आयोग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइले विनियोजित वार्षिक बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था अनुगमन गर्ने दायित्व दिइएको छ। यो टोलीलाई वडा नम्बर १ देखि ७ सम्मका वडा कार्यालयहरुको अनुगमन गर्ने दायित्व दिइएको छ।

सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोलीलाई सम्पदा तथा पर्यटन, सार्वजनिक निर्माण विभाग र वडा नम्बर ८ देखि २० सम्मका वडा कार्यालयहरुले गरेका कामको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीलाई वातावरण र विपद व्यवस्थापन विभाग, उद्यान तथा हरियाली प्रवर्धन आयोजना र वडा नम्बर २१ देखि ३२ सम्मको अनुगमन गर्ने दायित्व दिइएको छ ।