आवरण
नेपाली यात्रुलाई बारम्बार गरिने दुर्व्यवहारका कारण भारतीय विमान कम्पनीहरूकै ‘बिजनेस’ गुमिरहेको अवस्था
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मास्टर अफ पब्लिक हेल्थ अध्ययनरत शाम्भवी अधिकारीलाई ‘वर्ल्ड हेल्थ समिट’ मा सहभागी हुन जर्मनीको बर्लिन जानु थियो।
उनी काठमाडौँबाट एयर इन्डियामा दिल्ली पुगिन्। त्यहाँबाट कतार एयरवेजमा बर्लिन जाने उनको योजना थियो। किनभने, उनका लागि दिल्ली हुँदै जानु सबैभन्दा सस्तो पर्थ्यो।
आवश्यक सम्पूर्ण कागजात तयार थियो, तर विमानस्थलमा उनलाई दुर्व्यवहार गरियो। कर्मचारीले अनावश्यक प्रश्न सोधेर हैरानी दिए, उनको बोर्डिङ पास नै च्यातेर फालिदिए। त्यति मात्र होइन, उनलाई अन्य कुनै एयरलाइन्समा चढ्नसमेत दिइएन। आठ घन्टा दिल्ली विमानस्थलमा अपराधीलाई झैँ दुर्व्यवहार भोग्नुपरेको उनले नेपाल न्युजलाई सुनाइन्। पछि, नेपाली दूतावासमार्फत नेपाल एयलाइन्सले उद्धार गरेर काठमाडौँ ल्यायो। भन्छिन्, “बिहान त्यस्तो घटना भएपछि मलाई दिनभर त्यहाँबाट निस्किन दिइएन। बेलुका मात्र नेपाल फर्किन पाएँ।”
नेपाल फर्किएर भोलिपल्टै उनी दोहा हुँदै बर्लिन पुगिन्, कुनै अवरोधबिना। बर्लिन जाँदा र फर्किंदा उनले अन्त कतै त्यस्तो व्यवहार भोग्नु परेन। उनी भन्छिन्, “दिल्लीमा चाहिँ नेपाली पासपोर्टधारी भएकाले मलाई शंका गरियो। किनभने, म सानो देशकी नागरिक थिएँ, त्यसैले मलाई सम्भावित जोखिमका रूपमा हेरियो।”
दिल्ली विमानस्थलमा यस्तो दुर्व्यवहार भोग्ने शाम्भवी पहिलो र एक्ली व्यक्ति होइनन्। यो कुरा उनी आफैँले पनि अनुभव गरिन्। त्यस घटनाको तीन दिनपछि नेपालका एकजना सरकारी अधिकारी र गैरसरकारी संस्थामा काम गर्ने दुईजनाले पनि त्यस्तै हैरानी बेहोरेको शाम्भवी बताउँछिन्।
उनीजस्तै दुर्व्यवहार भोग्नेहरू अरू पनि धेरै भेटिन्छन्। नेपालीहरूले यस्तो पीडा भोग्नुपरेको अहिले मात्र होइन, धेरै वर्षअघिदेखि नै विमानस्थलमा यस्तो दुर्व्यवहार हुँदै आएको छ।
त्यसैले नेपाली हवाई यात्रुहरू सकेसम्म दिल्ली भएर यात्रा गर्नै चाहँदैनन्। जस्तै– एक दशकअघि स्विट्जरल्यान्ड जाँदा दुर्व्यवहार भोगेयता वैज्ञानिक समीरमणि दीक्षितले त्यो विमानस्थल प्रयोग गरेकै छैनन्। भन्छन्, “भारत भएर त जाँदै जान्नँ।”
योभन्दा पनि पुरानो घटनाकी भुक्तभोगी हुन् पत्रकार एवं लेखिका अमृता लम्साल। कतिसम्म भने, उनले त त्यो बाटै नहिँड्ने वाचा गरेकी रहिछन्। भन्छिन्, “म जिन्दगीभर एयर इन्डिया र दिल्ली भएर आउजाउ गर्नेछैन।”
बारम्बार सार्वजनिक भइरहने यस्ता घटनाले भारतीय विमानसेवा र विमानस्थलका बारेमा नेपालीहरूमाझ ‘नेगेटिभ ब्रान्डिङ’ भइरहेको छ। जबकि, भारत भएर तेस्रो मुलुकको यात्रा गर्ने नेपालीले तुलनात्मक रूपमा निकै सस्तोमा टिकट पाउँछन्। शाम्भवी पनि यस्तै सस्तो टिकट पाएर जान लागेकी थिइन्, तर दुर्व्यवहारमा परिन्। यस घटनाले त झन् भारतीय विमानस्थलबारे नेपालीहरूमाझ त्रासको माहोल बनेको छ र त्यसप्रति नकारात्मक भाव थपिएको छ। बेलायतमा बसिरहेकी इटहरीकी लक्ष्मी राई बर्सेनि नेपाल आउजाउ गर्छिन्। भन्छिन्, “शाम्भवीको घटना सुनेपछि त्यो बाटो हिँड्नै डर लाग्यो, अब दिल्ली भएर ओहोरदोहोर गर्दै गर्दिनँ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : बिक्रम राई
भारतीय विमानसेवा कम्पनीहरूको व्यापारमा धक्का पुगिरहेको उदाहरण खोज्न नेपालभित्रै पनि धेरै टाढा जानै पर्दैन। नेपाल वायुसेवा निगमकै पूर्वमहाप्रबन्धक केबी लिम्बू नै छन्। हालै उनका छोरालाई लन्डन जानु थियो। दिल्ली भएर एयर इन्डियामा जाँदा २५ हजार भन्दा बढीले सस्तो पर्ने देखियो। तर, दिल्ली विमानस्थलमा हुने व्यवहार सम्झिएर महँगोमै जाने निधो गरे। लिम्बू भन्छन्, “६२ हजारमा एयर इन्डियाको टिकट छाडेर ९० हजार रुपैयाँ तिरेर कुवेत एयरवेजबाट पठाएँ।”
हो, भारतीय वायुसेवाका टिकट तुलनात्मक रूपमा निकै सस्ता छन्। सबैभन्दा व्यापक गन्तव्य सञ्जाल भएको एयर इन्डियाको निजीकरण भएर टाटा समूहले लिएपछि यसको छवि उजिल्याउने प्रयास भइरहेको छ। प्रतिस्पर्धी मूल्य, गन्तव्यमा वृद्धि, उडान समयको सुनिश्चितता, ग्राहकसँग कर्मचारीहरूको व्यवहार र अरू सेवा सुधारलाई नयाँ व्यवस्थापनले प्राथमिकतामा राखेको छ।
त्यसैगरी, भारतको निजी क्षेत्रको अर्को ठूलो विमान कम्पनीले इन्डिगो एयरलाइन्सले पनि व्यापार हिस्सा बढाउन गन्तव्यको बढोत्तरी र प्रतिस्पर्धी सेवा, सुविधा एवं मूल्यलाई आधार बनाएको छ।
नेपालीलाई तेस्रो देश जानका लागि अन्यत्रको तुलनामा दिल्ली हुँदै जाँदा टिकटको मूल्य कहिलेकाहीँ त आधै सस्तो पर्छ।

पूर्वाञ्चल होलिडे ट्राभल एजेन्सीका सञ्चालक मणि भुजेलका अनुसार नेपालबाट तेस्रो देश जाँदा टिकटमा १३ प्रतिशत भ्याट जोडिँदा पनि केही महँगो पर्छ। त्यस्तै, भारतमा अन्य देश जाने एयरलाइन्स धेरै र उडान संख्या पनि धेरै भएकाले टिकटको मूल्यमा फरक परेको उनको बुझाइ छ।
नेपालबाट अमेरिका, युरोप, अस्ट्रेलिया र जापान जाने नेपाली यात्रुहरू सकेसम्म र पाएसम्म कतार, यूएई, ओमान, कुवेत, टर्की, चीन, कोरिया, सिंगापुर, मलेसियाका एयरलाइन्सहरू प्रयोग गर्छन्। दर्शन नमस्ते ट्राभल्सका सञ्जालक राजेश पोख्रेलको अनुभवमा तेस्रो देश जानेमध्ये विद्यार्थीहरूले दिल्ली विमानस्थलमा बढी सास्ती भोग्ने गरेका छन्। उनका भनाइमा तेस्रो देश जाने विद्यार्थीमध्ये ६० प्रतिशत दिल्ली भएर जान मान्दैनन्।
एयर इन्डियाले नेपालबाट भारतका विभिन्न गन्तव्यका लागि दैनिक सात उडान गर्छ। त्यसमध्ये काठमाडौँबाट दिल्लीका लागि दैनिक तीन उडान छ भने मुम्बई, कोलकाता र ब्याङ्लोर पनि नियमित उडान हुन्छ। त्यस्तै, काठमाडौँबाट इन्डिगो एयरलाइन्सले दैनिक तीन, स्पाइस जेटले एक र एयर इन्डिया एक्सप्रेसले एक उडान गर्दै आएका छन्।
एयर इन्डियाले घरेलु र अन्तर्राष्ट्रिय गरी दैनिक ६०० उडान गर्छ। उसले अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरियालगायत देशका ४३ गन्तव्यमा हप्तामा ५०० भन्दा बढी उडान गर्दै आएको छ। इन्डिगो एयरलाइन्स पनि ४० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्छ।

इन्डिगो एयरलाइन्सको विमान। तस्बिर : बिक्रम राई
भारतीय विमानस्थलमा नेपालीहरूलाई हुने दुर्व्यवहार मात्रै नियन्त्रण हुने हो भने त्यसको फाइदा भारतका वायुसेवा कम्पनीहरूलाई नै हुनेछ। साथै, नेपालीहरूलाई पनि सस्तो दरमा यात्रा गर्ने विकल्प हुनसक्छ। तर, यसका लागि भारतीय पक्षकै पहलकदमी जरुरी देखिन्छ।
नेपालीहरूले भारतीय विमानस्थलमा पटक पटक दुर्व्यवहार भोग्नुपरेको विषयमा जानकारी आएपछि नजिकबाट बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्री बताउँछन्। उनका अनुसार भारतस्थित नेपाली दूतावासले एयर इन्डिया, अध्यागमनलगायतसँग यस विषयमा बुझिरहेको छ। उनी भन्छन्, “यस्ता घटना दोहोरिन नदिन सबै पक्षसँग छलफल भइरहेको छ।”
शाम्भवी प्रकरणमा भारतीय अध्यागमन विभागको दोष नरहेको भनेर भारतीय गृह मन्त्रालयले अघिल्लो साता प्रेस विज्ञप्ति नै जारी गर्नुपर्यो। तर, दोषी वा निर्दोष छुट्याउनेभन्दा पनि भारतीय विमानस्थलमा नेपालीहरूलाई किन दुर्व्यवहार हुन्छ भनेर भारत सरकारले नै अध्ययन गरेर/गराएर सिफारिस कार्यान्वयन गराउन सके नेपाली यात्रुको विश्वास जित्नसक्छ र त्यसले भारतीय वायुसेवा कम्पनीको व्यापार पनि बढ्नसक्छ।
नेपाल वायुसेवाका पूर्वमहाप्रबन्धक लिम्बू भन्छन्, “कर्पोरेट कल्चर भएका देशमा व्यावसायिक असर पर्छ भनेर सतर्कता अपनाइन्छ, तर भारतमा यस्तो व्यवहारले व्यवसायलाई पनि असर परिरहेको भनेर बुझेको देखिँदैन। त्यस्तो हिसाब गरेको भए नेपाली यात्रुलाई दुर्व्यवहार हुने थिएन।”