काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

पटक पटक उपेक्षित भएका थिए ३० को दशकका नम्बर एक धावक जितबहादुर केसी

२० कार्तिक २०८२
म्युनिख ओलम्पिक्समा दौडमा भाग लिइरहेका जितबहादुर केसी र उनको हालको तस्बिर।
अ+
अ-

सन् १९७३ मा फिलिपिन्सको राजधानी मनिलामा पहिलो एसियाली एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेपछि जितबहादुर केसीको वाहवाही भयो। मनिलाबाट काठमाडौँ अवतरण गर्ने क्रममा उनलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

केसीका लागि ठूल्ठूला पुरस्कार घोषणा भयो। कसैले घर बनाउन जग्गा दिने घोषणा गरे। कसैले नगद पुरस्कार। तर, उनले घोषणा भएको केही पाएनन्। अर्को वर्ष उनकै सफलता भजाएर प्रशिक्षकहरूले मात्र होइन, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, नेपाल एमेच्योर एथलेटिक्स संघका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले राजा वीरेन्द्रको हातबाट गोरखा दक्षिणबाहु र त्रिशक्तिपट्ट आआफ्नो छातीमा लगाए। तर, उनलाई राज्यले सम्मान गरेन।

दुई वर्षपछि दक्षिण कोरियाको सिओलमा आयोजना भएको दोस्रो एसियाली एथलेटिक्स प्रतियोगितामा पनि उनले राष्ट्रका लागि दोस्रो कांस्य पदक जिते। यतिबेला पनि उनी उपेक्षित भए। उनको नाम भजाएर खेलकुदका तिनै पदाधिकारीले राजा वीरेन्द्रबाट पुनः अर्को पदक थापे।

पञ्चायतको १५ वर्ष उपेक्षाको जीवन र बहुदल हुँदै गणतन्त्रकालमा पनि उपेक्षित तिनै जितबहादुर केसीलाई बल्ल जेन-जी आन्दोलनपछि स्थापित नयाँ सरकारले २५ लाख रुपैयाँबाट सम्मान गर्ने घोषणा गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबार बसेको १२३औँ बोर्ड बैठकमा जेन-जी युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता आफैँले त्यो प्रस्ताव लगेपछि परिषद्का पदाधिकारी पनि चकित परेका थिए। “उहाँ (जितबहादुर)लाई पञ्चायतकालदेखि नै अन्याय भएको कुरा आयो। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीलाई यति लामो समयदेखि उपेक्षा गरेको कुरा अहिलेको सरकारले कसरी टुलुटुलु हेरेर बस्न सक्छ। त्यसैले पहिलो बैठकबाटै निर्णय गरेका हौँ,” युवा तथा खेलकुदमन्त्री गुप्ताले भने।

जितबहादुर अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रलाई पहिलो पदक जिताउने खेलाडी हुन्। ७९ वर्षको उमेरमा मुटु सुनिने व्यथा बोकेका उनी १५/१५ दिनमा स्वास्थ्य परीक्षणका लागि अस्पताल धाउने गर्छन्। उनले यो उमेरमा राज्यबाट न्याय पाउने आशा मारिसकेका थिए। तर, बुधबार बोर्ड बैठकबाट आफूलाई राहतस्वरूप पुरस्कृत गर्ने निर्णय भएको खबर सुनेपछि अचम्म लागेको बताउँछन्। “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यो खबर सुनाउँदा होइन जस्तो लागेको थियो। पछि समाचार नै आयो,” जितबहादुरले नेपाल न्युजसँग भने।

सन् २०१४ मा खिलराज रेग्मी मन्त्रिपरिषद्‌का अध्यक्ष हुँदा सरकारले म्याराथन धावक वैकुण्ठ मानन्धर र तेक्वान्दो खेलाडी दीपक विष्टलाई २५/२५ लाख रुपैयाँबाट सम्मान गरेको थियो। यतिबेला नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी जितबहादुरलाई छुटाएको भन्दै परिषद्को तत्कालीन नेतृत्वको आलोचनासमेत भएको थियो। अर्को वर्ष तेक्वान्दो खेलाडी संगीना वैद्यलाई पनि मन्त्रिमण्डल बैठकबाट स्वीकृति प्रदान गर्दै १५ लाख रुपैयाँबाट सम्मानित गरिएको थियो। यतिबेला पनि जितबहादुरतिर सरकारले ध्यानै दिएन।

सन् १९६०–७० को दशकमा नेपाली म्याराथनका निर्विवाद नम्बर एक धावक जितबहादुरलाई सन् १९७२ को म्युनिख ओलम्पिक्समा बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियाले समेत पदकको दाबेदार भनेका थिए। तर, २२ किलोमिटर दौड पूरा गरेपछि उनको खुट्टाको मसल्स छुट्यो र उनले बीचैमा दौड त्यागे। सन् १९७४ मा इरानमा आयोजना भएको एसियन गेम्समा पनि जितबहादुरलाई पदकको दाबेदार मानिएको थियो। तर, इरानले म्याराथन स्पर्धालाई समावेश नै गरेन।

“त्यतिबेला उहाँ दौडिन आउनुभएको छ भन्ने सुनेपछि भारतलगायत एसियाका धावकहरू अतालिन्थे,” नेपालका अर्का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर भन्छन्, “जितबहादुर दाइको सम्मान भनेको हाम्रो पनि सम्मान हो।”

सन् १९६७ मा काठमाडौँमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि जितबहादुरको नेपाली खेलकुदमा उदय भएको थियो। उनी करिब आठ वर्ष अनवरत नेपालका नम्बर एक खेलाडी रहे। यसबीच उनले राष्ट्रिय प्रतियोगितामा १४ स्वर्ण जिते। सन् १९७०–७४–७८ मा गरी तीनपल्ट एसियन गेम्समा सहभागिता जनाएका जितबहादुरले १ जुन १९७२ मा म्युनिख ओलम्पिक्सका लागि काठमाडौँमा आयोजना भएको छनोट खेल दुई घण्टा २३ मिनेट १९.५ सेकेन्डमा पूरा गर्दै सनसनी मच्चाएका थिए। त्यतिबेला यो कीर्तिमान विश्व एथलेटिक्समै उत्कृष्ट मानिन्थ्यो।

नेपाली खेलकुदका अग्रज पत्रकार तथा प्राध्यापक पी खरेल भन्छन्, “हामीले रिपोर्टिङ गर्दा (३० को दशकमा) उहाँलाई हराउन अरू खेलाडीलाई फलामको च्युरा नै चपाउनुपर्थ्यो।”