काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नियात्रा

कालीगण्डकीको शालिग्राम प्रत्येक मैथिलको घरमा भगवान् नारायणका रूपमा पुजिन्छ। यो र यस्ता थुप्रै आधारमा भन्ने हो भने मिथिलाको सीमा मुस्ताङ (दामोदर कुण्ड)सम्म फैलिएको हुनसक्ने अध्येताहरूको दाबी छ।

२० कार्तिक २०८२
हिउँ परेर सेताम्मे देखिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाका कोरला। तस्बिर : सुशीलबाबु थकाली/रासस
अ+
अ-

कोरलाको भूमि टेक्ने सपना साकार भएको थियो। प्रसन्नता अस्वाभाविक थिएन। तर, हामी कसैको अनुहारमा पनि प्रसन्नताको भाव थिएन। सबैको अनुहारमा एक किसिमको निराशा अनुबोध गर्न सकिन्थ्यो। कोरला (४,६०० मिटर)मा नेपाल र चीनको प्रत्यक्ष तुलना गर्न सकिने दु:खदायी अवस्था जो विद्यमान थियो। उतातर्फ बडेमानका अट्टालिका र हाम्रातर्फ मैदानमा ठडिएका अस्थायी त्रिपाल। निधारका छाला खुम्चिएर तत्काललाई मुजा पर्नुपर्ने यथेष्ट कारण उपलब्ध थिए।

२०८२ पहिलो महिनाको अन्तिम दिन। नेपाल प्रेस युनियनले आयोजना गरेको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको अन्तिम पडावबाट हामी (चालकसमेत १५ जना) फर्किरहेका थियौँ। लोमन्थाङमा घोषणापत्र जारी गरिएसँगै समिट सम्पन्न भइसकेको थियो। कोरलाको भ्रमण त हाम्रा लागि ‘बोनस’ थियो।

कोरलाको मैदानमा हावा बढेसँगै त्यहाँबाट हामीले बिदा हुनुपर्ने बुझेका थियौँ। छेउछाउका हिमालका हिउँले पनि हामीलाई यही भनिरहेका थिए। हिमाल हुन हिउँ आवश्यक पर्छ, तर दुःखका साथ भन्नुपर्छ– यहाँबाट देखिने अग्ला पहाडमा काला ढुंगाहरू स्पष्टै देख्न सकिन्छ। यसो लेखिरहँदा मैले हालै भेटेका हनी हन्टर क्याराभान जस्ता सिनेमामार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका प्रसिद्ध सिनेकर्मी एरिक भ्यालीले भनेको सम्झिएँ। क्याराभानका अमर पात्र थिन्लेको शब्द उद्धृत गर्दै उनले भनेका थिए– हिउँसँगै संस्कृति पनि पग्लिरहेको छ

यहाँको संस्कृति जोगाउन हिमाल र हिउँ जोगाउनुपर्छ। यहाँ रहँदा मैले हिउँ पर्न कमी आएकामा चिन्ता गरिरहेका थुप्रै मानिस भेटेको थिएँ। मैले सुनेको छु– मध्यकात्तिकमा मुस्ताङमा प्रशस्त हिउँ परेको छ रे। प्रकृतिलाई धन्यवाद! यस यात्राका क्रममा हिउँ र हिमालको मात्र होइन, अन्य थुप्रै स्मृति मेरो मानसपटलमा सुरक्षित छन्।

कोरलामा स्थानीय व्यापारीको गुनासोको पनि सम्झना छ। उनीहरूका अनुसार १४ कात्तिक २०८१ मा गृहमन्त्री रमेश लेखकले कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा उनीहरू आर्थिक गतिविधि बढ्नेमा आशावादी थिए। तर, केही दिनपछि नै सेवा बन्द भयो। लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यवसायीलाई परेको छ।

नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ। भन्सारका साथै पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन। स्थानीयहरू सरकारले कोरला नाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन्। अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्यहर्वु गुरुङको बुझाइ छ। उनका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन। नाकानजिकै दक्षिणतर्फ टिनले छाएको चारकोठे भवनबाहेक कुनै पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन। यतिसम्म कि पानी पर्दा ओत लाग्ने ठाउँसमेत छैन।

नेपाल-चीन सीमामा अवस्थित कोरोला नाका (४६०० मि) नाकाबाट देखिने नेपालतर्फको दृश्य। यहाँ नेपालको अध्यागमन कार्यालय रहे पनि पूर्णत: सञ्चालनमा आउन सकेको छैन। तस्बिर : धर्मेन्द्र विह्वल

‘लोमन्थाङबाट नाका २४ किलोमिटरको दुरीमा पर्छ। नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोस्ट (यस क्षेत्रमा अन्तिम पोस्ट) भए पनि प्रहरीको उपस्थिति कमजोर छ,’ गुरुङले भनेका थिए, ‘सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, पोल ठडिएको भए पनि बिजुली पुगेको छैन।’ गुरुङका अनुसार नाकाको प्रभावकारी सञ्चालन भए मुस्ताङका लोमन्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिन सक्थे। नाकामा खानेपानी र ल्यान्डलाइन फोनको पनि सुविधा छैन, नाका सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ।

भवन नहुँदा कोरला नाकामा खुला मैदानमा त्रिपाल टाँगेर व्यापार गर्ने नेपालीको संख्या उल्लेख्य छ। तिनैमध्येका हुन्– जिग्मे आङ्मा गुरुङ। उनीजस्ता व्यापारीहरू बिहान ९ बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ बजेसम्म फर्कने गरेका छन्। उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिइने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको हामीले जानकारी पायौँ।

मैले जिग्मेलाई सोधेको थिएँ– तपाईंहरूले यता ल्याएका सामानका खरिदकर्ता को हुन् नि? मेरो कुरा सकिन नपाउँदै उनले भनेका थिए, ‘हाम्रै नेपाली दाजुभाइ र दिदीबहिनी, जो यहाँ आएर कोसेली लान खोज्नुहुन्छ।’ चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन्। नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ।

कोरला नाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ। २०७२ सालको भूकम्पपछि काठमाडौँबाट नजिक मानिने तातोपानी, केरुङसँगै यस नाकाको पनि चर्चा भएको थियो। भौगोलिक दृष्टिले तुलनात्मक रूपमा सहज मानिने यो नाका सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिनसक्ने जिग्मेको बुझाइ छ।

विगतमा सिम्रौनगढ सम्पन्न हुनुमा व्यापारको यस सम्बन्धले पनि भूमिका निर्वाह गरेको हुनसक्छ। प्राचीन मिथिलाको सीमा पूर्वमा कोसी, पश्चिममा गण्डकी, दक्षिणमा गंगा र उत्तरमा हिमालय भनेर परिभाषित छ।

नेपाल र चीनबीचको व्यापारको कुरा हुँदै गर्दा मैले इतिहासमा चर्चित ‘साल्ट ट्रेड रुट’ (नुन व्यापार मार्ग)को सन्दर्भ सम्झिएँ। गाडीमा म र प्रेस युनियनका अध्यक्ष शिव लम्सालका साथै अग्रजद्वय नेपाल पत्रकार महासंघका पूर्वसभापतिहरू हरिहर विरही र तारानाथ दाहाल पनि थिए। यो मार्गबारे दाहालको अध्ययन बढी र आधिकारिक छ। उनले भने– आज मात्र होइन, यो त तिब्बतलाई तत्कालीन मिथिला र वैशाली हुँदै वर्तमानको दक्षिण एसियासँग जोड्ने पारम्परिक व्यापार मार्ग हो। इतिहासको कुनै कालखण्डमा मिथिला र वैशाली दुवैले वज्जी महासंघको सदस्य भएर संघीयताको अभ्यास गरेका थिए। एकथरी इतिहासकारका अनुसार प्राचीन मिथिलाको दक्षिणी सीमा गंगासम्म थियो। यस आधारमा वैशाली पनि बृहत् मिथिला गणराज्यकै एक अंग रहेको मान्न सकिन्छ।

विगतमा लामो समयसम्म नुन, ऊन, सुन तथा खनिजको ओसारपोसार अर्थात् व्यापार गर्ने प्रमुख मार्ग यही थियो। यस विषयमा अध्ययन गर्ने रोशनकुमार झालगायत इतिहासकारहरूले तिब्बतदेखि समथर भूमिसँगको व्यापार यही मार्ग हुँदै अगाडि बढेको र यस मार्गले तत्कालीन मिथिलाको राजधानी सिम्रौनगढलाई पनि केन्द्र बनाएको हुनुपर्ने बताएका छन्। झाका अनुसार सिम्रौनगढ त्यसवेलाको व्यापारको प्रमुख केन्द्र रहेको हुनसक्छ। हालै प्रकाशित झाको नेपालमण्डलसँग जो‍डिएको सिम्रौनगढको सम्बन्ध पुस्तकमा झाले यसबारे लेखेका छन्।

गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकतामा राखेर स्तरोन्नति अगाडि बढाएको छ। इतिहास साक्षी छ, अहिलेको त्रिवेणी नाका मिथिला अर्थात् सिम्रौनगढको अधीनस्थ थियो। यस आधारमा तिब्बत र सिम्रौनगढबीचको पारम्परिक सम्बन्धको सहज अनुमान गर्न सकिन्छ। बुद्ध धर्मका महान् प्रचारक विद्वान् पद्यसम्भव पनि यही बाटो हुँदै तिब्बत पुगेको अनुमान छ। यति मात्र होइन, कोरला मात्र नभई केरुङ नाकाले पनि मिथिला जोडेको छ। केरुङको बाटोको सम्बन्ध पनि अहिलेको ठोरी हुँदै सिम्रौनगढसँग जोडिएको अनुमान गर्न सकिन्छ।

उपल्लो मुस्ताङको लोमन्थाङबाट देखिएको पर्वतीय दृश्य। लोवा जातिको मुख्य बसोवास रहेको लोमन्थाङ विगतमा शक्तिशाली राज्यको राजधानीका रूपमा स्थापित थियो। तस्बिर : धर्मेन्द्र विह्वल

विगतमा सिम्रौनगढ सम्पन्न हुनुमा व्यापारको यस सम्बन्धले पनि भूमिका निर्वाह गरेको हुनसक्छ। प्राचीन मिथिलाको सीमा पूर्वमा कोसी, पश्चिममा गण्डकी, दक्षिणमा गंगा र उत्तरमा हिमालय भनेर परिभाषित छ। गण्डकी नदीको मूल आधार कालीगण्डकीको उद्‌भव मुस्ताङ (दामोदर कुण्ड)बाटै हुन्छ। कालीगण्डकीको शालिग्राम प्रत्येक मैथिलको घरमा भगवान् नारायणका रूपमा पुजिन्छ। यस आधारमा हेर्ने हो भने इतिहासको कुनै कालखण्डमा मिथिलाको सीमा दामोदर कुण्डसम्म फैलिएको हुन सक्‍छ। तिब्बत र मिथिला सीमावर्ती दुई राज्य रहेको अनुमान गर्न सकिन्छ। अध्येता झा भन्छन्– प्रसिद्ध चिनियाँ यात्री ह्वेन साङले पनि यही बाटो प्रयोग गरेका थिए भनियो भने आश्चर्य मान्नुपर्ने नहोला।

गाडी एकतमासले बढिरहेको थियो। म भने मेरो मैथिल समाज, सिम्रौनगढ, गण्डकी, शालिग्राम, मुक्तिनाथ र मानसरोवरबीचको अन्तरसम्बन्ध विश्लेषणको प्रयत्न गरिरहेको थिएँ।

हामी न्हेछुङ प्रहरी चौकी हुँदै नेपालतर्फको अन्तिम गाउँ न्हेछुङ पुगिसकेका थियौँ। हामी कोरला जाँदा यस बस्तीमा पसेका थिएनौँ। अहिले धोको मेट्ने कुरा हुँदै थियो। ससाना होचा घर। लोमन्थाङका घरभन्दा यहाँका घर पृथक् देखिन्छन्। सायद लोमन्थाङ (३,८५० मिटर) भन्दा पनि उचाइमा भएर होला।

बस्ती हेर्दा झट्ट लाग्यो– न्हेछुङभन्दा लोमन्थाङ अलि सम्पन्न छ। हावामा तीव्रता र चिस्यान अनुभव हुन्छ। छेउछाउ अजंगका पहाडले हामीलाई छाडेका छैनन्, तर बाटो छेकेका पनि छैनन्। त्यहीबेला गाडीभित्र कसैले ती पहाड देखाउँदै खम्पा विद्रोहको कुरा उप्काउँदै यस क्षेत्रमा बंकरहरू हुनसक्ने तर्क गरेका थिए। यहीबेला युनियन अध्यक्ष लम्सालले युरेनियम खानीबारे जिज्ञासा राखेका थिए। अग्रज विरहीले सम्झाउने शैलीमा भनेको सम्झन्छु–चर्चा र अनुमान त धेरै कुराको हुन्छ, तर हामीले पुष्टिको आधार खोजी गर्नुपर्छ।

सम्बन्धित लेख :

कोरलामा देखिने दुई देशको फरक तस्बिर

कोरला नाका हिन्दुहरूको आस्थाको केन्द्र कैलास र मानसरोवर जाने उपयुक्त बाटो मानिन्छ। लोमन्थाङबाट तिब्बततर्फ ४० किलोमिटरको दुरीमा ढोङवासेन पर्छ। त्यहाँबाट करिब ६०० किलोमिटर दुरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ। नाका सहज सञ्चालन हुने हो भने नेपालबाट कैलास मानसरोवर पुग्ने सबैभन्दा छोटो र राम्रोबाटो यही बन्नसक्ने स्थानीय जानकार बताउँछन्।

कोरला नाका २०७६ सालमा कोभिड-१९ महामारीको समयमा पूर्ण रूपमा बन्द भएको थियो। त्यसको चार वर्षपछि २७ कात्तिक २०८० मा सञ्चालनमा आयो। त्यसअघि वर्षमा दुईपटक वैशाख-जेठ र दसैँमा नाकामा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो। तर, महामारीपछि व्यापार मेला हुनसकेको छैन।

गाडी एकतमासले बढिरहेको थियो। म भने मेरो मैथिल समाज, सिम्रौनगढ, गण्डकी, शालिग्राम, मुक्तिनाथ र मानसरोवरबीचको अन्तरसम्बन्ध विश्लेषणको प्रयत्न गरिरहेको थिएँ। आफैँसँग प्रश्न गरिरहेको थिएँ– के साँच्चै मिथिलाको प्रभाव यहाँसम्म थियो?