काठमाडौँ। सामाजिक अभियन्ता खगेन्द्र सुनारले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छन्।
सुनार सभापति रहेको उनको दलको नाम हाम्रो पार्टी नेपाल प्रस्ताव गरिएको छ। आयोगमा दल दर्ता लागि १८ कात्तिकमा सुनारले आवेदन दिएका थिए। उनले आफ्नो दलको चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक’ रहेको बताए। सुनारले नेपाल र नेपाली जनताले भरोसा गर्न सक्ने गरी नयाँ राजनीतिक अभियान सुरु गर्न नयाँ दल दर्ता प्रक्रिया सुरु गरेको बताए। उनले भने‚ “हामी आगामी चुनावमा बलियो शक्ति हुने गरी दल दर्तामा गएका हौँ।”
सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले राष्ट्रिय पुनर्जागरण, स्थायित्व र समृद्धिको यात्राका लागि उदार सामाजिक लोकतन्त्रलाई मुख्य आधार बनाएको छ। सुनार भन्छन्‚ “मलाई विश्वास छ लोकतन्त्र भनेको जनताको सहभागितामा आधारित शासन हो, जसमा व्यक्तिगत स्वतन्त्रता, अवसरमा समान पहुँच र राज्यको सामाजिक जिम्मेवारी सन्तुलित रूपमा स्थापित हुनुपर्छ। हाम्रो पार्टी नेपालको ध्येय समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण नेपाल निर्माण गर्नु हो‚जहाँ सबै नागरिकले सम्मानसहितको जीवन बाँच्न सकून्।”
सुनारले रुकुममा अन्तरजातीय प्रेमका कारण हत्या गरिएका नवराज विकसहित ६ युवाको न्याय लागि निरन्तर आवाज उठाउँदै आएका छन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारमा उनको नाम श्रम तथा रोजगारमन्त्रीमा सिफारिस भएको थियो। तर विवादका कारण अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट काटिएको थियो।
सुरुदेखि नै जेन-जी आन्दोलनमा सहाभागी सुनारले अन्तरिम सरकार र प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गर्दै आएका छन्।