काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले सहकार्यको घोषणा गरेका छन्। उनीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच संवाद, छलफल र एकताका लागि आह्वान गरेका हुन्।
‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रमाथि चौतर्फी संकट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ।’
चन्द, भुसाल र शर्मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वटा कम्युनिस्ट पार्टी एकता प्रक्रियामा संलग्न नभएका नेताहरू हुन्। बुधबार मात्रै १० वटा दलले नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए। माओवादीसँग एकता गर्ने भए पनि एकीकृत समाजवादीका नेताहरू एमालेमा फर्किनका लागि छलफल चलाइरहेका छन्।
‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन्,’ विज्ञप्तिमा भनिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई झन् अन्योलग्रस्त बनाएको उनीहरूको विश्लेषण छ। ‘राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन्। राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ। मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।