काठमाडौं। पहिलो खेलमा ठूला अन्तरले पराजित भएको देउराली युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट पुनरागमन गरेको छ।
हेटौँडास्थित गौरिटार रंगशालामा शुक्रबार देउरालीले जनजागृति युवा क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो जित हात पारेको हो।
खेलको सुरुआत भने देउरालीका लागि सहज थिएन। पहिलो मिनेटमै जनजागृतिका शम्भु थारूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, त्यसपछि देउराली खेलमा पुनरागमन गर्न सफल रह्यो।
फरवार्ड मिलन लिम्बूले टोलीको पुनरागमनको नायक बने। उनले १०औं र ४४औं मिनेटमा लगातार दुई गोल गर्दै देउरालीलाई २–१ को अग्रता दिलाए। अन्तिम समयमा उज्ज्वल राईले थप गोल गर्दै जित सुनिश्चित गरे।
पहिलो खेलमा चित्लाङ फुटबल क्लबसँग ४–१ ले पराजित भएको देउरालीले योसँगै ३ अंक जोडेको छ।