काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आज जयबागेश्वरीस्थित ब्रह्माको मन्दिर उद्घाटन गरेका छन्। उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख साहले महानगरपालिकाको वडा नम्बर ८ जयबागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन्।
उद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रूपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न लागिरहेको बताइन्। मूर्ति राख्ने प्रसंगमा उनले भनिन्, “जहाँ मूर्तिको पूजा हुन्छ, मूर्तिलाई त्यहीँ राख्नुपर्छ। यसलाई हामीले अभियानका रूपमा अगाडि बढाएका छौँ।”
यो मन्दिर हराएकै एक सय वर्षभन्दा धेरै भएको थियो। वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० सालअघि नै मन्दिर भग्नावशेष भएको थियो। यसपछि झाडी मात्र थियो। पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो। संगत भन्छन्, “अध्ययनबाट मन्दिर छैटौँ शताब्दिदेखि सातौँ शताब्दिको बीचमा निर्माण भएको अनुमान गरिएको छ। मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरूबाट मन्दिरको रेखांकन गराएर पुननिर्माण गरिएको हो।”

मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो। चतुर्मुख ब्रह्माको यो मूर्तिलाई पञ्चांग निर्णायक समितिले दिएको साइतअनुसार कात्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो। करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो। चोरेर लैजाने क्रममा टाढा पुर्याउन नसकेपछि चोरले छोडेर भोगेका थिए। त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो।
पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमले यस मूर्तिको विशेषताका बारेमा जानकारी दिँदै भने, “मूर्तिमा चारवटा टाउका छन्। छातीतर्फको टाउकोले पश्चिम हेरेको छ। एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ। दुईवटा टाउका काँधमाथि छन् भने एउटा टाउको पछाडिपट्टि छ। यसकारण यो मूर्ति ब्रह्माको हो।”