काठमाडौं। कप्तान सन्दीप जोराको सानदार अर्धशतकका बाबजुद नेपालले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानसँग १७ रनको हार बेहोरेको छ।
मिसन रोड ग्राउन्डमा शुक्रबार सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाउँदै ११३ रनको चुनौती प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा नेपालले २ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो।
नेपालका ओपनर सन्दीपले आक्रामक प्रदर्शन गर्दै १४ बलमा १ चौका र ८ छक्कासहित ५३ रन जोडे। उनी रिटायर हर्ट भए। अर्का ओपनर लोकेश बमले १० बलमा १ छक्कासहित १० रन बनाए।
रशिद खान ११ रनमा अविजित रहे भने मोहम्मद आदिल अन्सारी र रुपेश सिंहले क्रमशः ११ र १ रन जोडे।
अफगानिस्तानका फरमानुल्लाह र इजाज अहमदले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानका ओपनर करिम जनतले १० बलमा ३५ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।
फरमानुल्लाहले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनको अविजित इनिङ्स खेले। कप्तान गुलाबदिन नैबले २२ तथा सेदिकुल्लाह पचाले १३ रन जोडे।
नेपालका बलर रशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। लोकेश बमको नाममा १ विकेट रह्यो।