आवरण
माओवादी नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर) प्रचण्डसँग अलग भएपछि कर्णालीमै एक्लिए
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले १६ कात्तिकमा तत्कालीन माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनीसँगको सम्बन्ध सकिएको घोषणा गरे। दाहालले माओवादीलाई १० वाम घटकसँगको एकतामा लैजाने निर्णय गरेपछि जनार्दनले दाहालसँगको ४२ वर्ष लामो सम्बन्ध टुंग्याएको घोषणा गरेका थिए। दाहालसँगको त्यस दिनको भेटमा उनले भनेका थिए, ‘कुनै घुम्तीमा हामी भेटौँला।’ दाहाल–जनार्दन भेटको तीन दिनपछि १९ कात्तिकमा माओवादीसहितका १० वामबीच पार्टी एकता भएको छ। एकताअघिको माओवादी केन्द्रका अध्यक्ष दाहाल संयोजक र नेकपा (एस)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहसंयोजक भएका छन्। तीन पूर्वप्रधानमन्त्री दाहाल, नेपाल र झलनाथ खनाल मिलेर बनेको नयाँ वाम दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ। दुर्भाग्य, नयाँ दलमा दाहालसँग चार दशकसँगै रहेका जनार्दन शर्मा छुटेका छन्। वाम दलको एकता घोषणासभामा न उनी देखिए, न उनले १० दलको एकतालाई समर्थन नै गरेका छन्।
वाम दलबीच एकता गर्ने दाहालको निर्णयपछि नै माओवादी द्वन्द्वकालअघिदेखि महत्त्वपूर्ण जिम्मेवारीमा रहेका प्रभावशाली नेता जनार्दनले पार्टीबाट अलग हुने निर्णय लिएका थिए। माओवादीबाट अलग भएपछि उनले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरिसकेका छन्। त्यसबारे अहिलेसम्म विस्तृत खुलाइएको छैन भने त्यस अभियानमा माओवादीका चिनिएका नेता सहभागी छैनन्। पछिल्लो समय जनार्दनको दाहालसँगको अन्तर्विरोध चर्किएको मात्र थिएन, छताछुल्ल नै भएको थियो।
जनार्दन कर्णाली प्रदेशमा पनि माओवादी केन्द्रका शक्तिशाली नेता मानिन्छन्। तर, दाहालको साथ छाडेपछि उनी कर्णालीमै एक्लिएका छन्। कर्णालीमा भएका अधिकांश माओवादी अगुवाले दाहालको पार्टी एकता अभियानलाई साथ दिएका छन्। दाहालसँगको जनार्दनको अन्तर्विरोधलाई कर्णालीका कुनै पनि नेताले खुलेर साथ दिएका छैनन्। कतिसम्म भने, जनार्दनकै विश्वास पात्र मानिएका गृहजिल्ला रुकुम पश्चिमका माओवादी नेताले पनि उनको साथ छाडेका छन्।
युद्धकालमा माओवादीको उर्वर भूमि हो– कर्णाली। रुकुम, रोल्पा, कालीकोटलगायत कर्णाली प्रदेशका अधिकांश दुर्गम ठाउँ माओवादी सशस्त्र युद्धका लागि उर्वर मानिएका थिए। ती क्षेत्रका कैयौँ भिडन्तमा जनार्दनले कमान्डरकै भूमिका खेलेका थिए।

माओवादीबाट अलग हुने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलनमा जनार्दन शर्मा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
माओवादीबाट जनार्दन शर्मा गृहमन्त्री हुँदा स्वकीय सचिव थिए, माओवादीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका गोपाल शर्मा। उनले जनार्दनको अभियानलाई साथ दिने अनुमान थियो। तर, उनै गाेपाल अहिले ‘राजनीति आफ्नै स्वतन्त्रतामा रोज्ने विषय हो’ भन्दै दाहाल पक्षमा उभिएका छन्। उनी यसअघि जनार्दनकै सहयोग र बलमा कर्णाली प्रदेश सभामा सांसद भएका थिए। त्यस्तै, जनार्दनकै सिफारिस र जोडमा गोपाल कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भएका भए।
संसदीय चुनावमा गोपाल जनार्दनको चुनावी अभियान अत्यधिक खटिने नेतामध्ये पर्छन्। तर, उनी जनार्दनको पछिल्लो निर्णयमा आफूले साथ दिन नसकेको बताउँछन्। गोपाल भन्छन्, “कमरेड प्रभाकरले सोचविचार गरेरै निर्णय लिनुभएको होला। निर्णय लिने कुरामा उहाँ स्वतन्त्र हुनुहुन्छ। तर, उहाँको विचार र निर्णयमा सहमत हुन सकिएन। किनभने, हामीलाई पनि आफ्नो ढंगले सोच्ने र निर्णय गर्ने स्वतन्त्रता छ।” उनले जनार्दनसँग आफ्नो लामो व्यक्तिगत तथा राजनीतिक सम्बन्ध हुँदाहुँदै पनि पछिल्लो समय उनको साथ छाडेको बताए। गोपालको कथन छ, “विभाजनले पार्टीलाई मात्र कमजोर बनाउने होइन, व्यक्तिलाई पनि कमजोर बनाउँछ।”
कर्णालीमा दाहाल समूहको नेतृत्व शक्ति बस्नेतले गर्दै आएका छन्। कर्णाली प्रदेशमा शक्ति बस्नेत र जनार्दनको अलग अलग गुट थियो।
जनार्दनको साथ छोड्नेमा उनीनिकट माओवादी नेता गोपाल शर्मा एक्ला होइनन्। जनार्दनको गृहजिल्ला रुकुम पश्चिमकी विमला केसीले पनि उनलाई त्यागेर दाहाललाई समर्थन गरेकी छन्। उनी माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष हुन्। त्यसअघि उनी जनार्दननिकट रहेरै प्रदेश सांसद र मन्त्री बनेकी थिइन्। २०७० सालमा केसी माओवादीका तर्फबाट संविधानसभा सदस्य थिइन्। १८ कात्तिकमा उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जनार्दनलाई मूलधारमै फर्किन आह्वान गरेकी छन्। त्यसमा केसीले अन्तिमसम्म पार्टीको मूलधारमा टिक्न नसक्ने नेताका कारण माओवादी सहिद परिवारको आशा र भरोसामा कुठाराघात भएको टिप्पणी पनि गरेकी छन्। “उहाँकै जिल्लाका मानिसहरू पार्टीमा लागेर सहिद भए, घाइते भए। उहाँकै कारणले धेरै मानिस पार्टीमा लागेका हुन् र बलिदान दिन तयार भएका हुन्,” नेपाल न्युजसँगको कुराकानीमा केसी भन्छिन्, “तर, उहाँको पछिल्लो निर्णयले जनयुद्धकालका पीडित परिवार ज्यादै मर्माहत छन्। कर्णालीमा उहाँ एक्लिसक्नुभएको छ, अब उहाँलाई कर्णालीमा साथ दिने कोही छैन।”

यसअघि जनार्दन शर्मासँग रहेका माओवादी नेताहरू विमला केसी, महेन्द्र केसी, गोविन्द रोका र गोपाल शर्मा।
कर्णाली प्रदेशका जनार्दनका अर्का विश्वासपात्र हुन्, रुकुम पश्चिमका गोविन्द रोका। रोकाले जनार्दनकै जोडबलमा माओवादी सरकारको नेतृत्वमा हुँदा नेपाल टेलिभिजनको महाप्रबन्धकको जिम्मेवारी पाएका थिए। रोकाले जनार्दन अर्थमन्त्री हुँदा त्यस मन्त्रालयको जनसम्पर्क सल्लाहकारको नियुक्ति पाएका थिए। उनी अहिले माओवादी केन्द्रको रुकुम पश्चिम संयोजक हुन्। रोकाकी पत्नी मिलन खड्का पनि माओवादीको कर्णाली प्रदेश सभा सदस्य हुन्। दुर्भाग्य, जनार्दनका विश्वासपात्र र उनी पदमा हुँदा लाभ लिएका रोकाले समेत अहिले उनको साथ छाडेका छन्। १९ कात्तिकमा १० वाम एक ठाम भएलगतै रोकाले भने, “आजदेखि औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद निर्माणको यात्रामा अघि बढियो, क्रान्तिकारी कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा स्थापित चम्किलो तारा चुनाव चिह्नसहित यो ऐतिहासिक महाअभियानमा सामेल हुन अपिल गर्दछु।”
त्यसो त कर्णाली प्रदेशका जनार्दननिकट माओवादी नेताहरू मात्र होइन, उनीसँग विभिन्न समयमा काम गरेका कर्णालीका अरू माओवादी नेता पनि उनको पक्षमा छैनन्। माओवादी उपमहासचिव शक्ति बस्नेत, कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, केन्द्रीय सदस्य मायाप्रसाद शर्मा, पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र माओवादी स्थायी सदस्य सत्या पहाडीलगायत कर्णालीका अधिकांश माओवादी नेता जनार्दनको पक्षमा छैनन्। उनीहरू सबै दाहालकै पक्षमा खुलेका छन्।
हुन पनि कर्णालीका अधिकांश माओवादी नेता माओवादीभित्र पछिल्लो समय चलेको दाहाल–जनार्दनबीचको अन्तरसंघर्षमा दाहालकै पक्षमा थिए। कर्णालीमा दाहाल समूहको नेतृत्व शक्ति बस्नेतले गर्दै आएका छन्। कर्णाली प्रदेशमा शक्ति बस्नेत र जनार्दनको अलग अलग गुट थियो।

वाम एकता घोषणासभामा पुष्पकमल दाहाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
माओवादीका वैकल्पिक केन्द्रीय सदस्य तथा चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी दाहाल र जनार्दनको अभियानबारे आफू तत्काल खुलेर बोल्न नचाहेको बताउँछन्। अहिलेको वाम एकता र जनार्दनको नयाँ अभियान दुवैको औचित्य आफूले नदेखेको उनको कथन छ। १९ कात्तिकमा दाहाल र जनार्दनलाई अलग अलग भेटेर दुवैका कुरा सुनेपछि आफू कतैतिर नखुलेको उनको भनाइ छ। वादी भन्छन्, “प्रभाकरको पनि तत्कालै पार्टी नै गठन गरेर अघि बढिहालौँ भन्ने छैन, उहाँले पार्टीमा नयाँ पुस्तालाई सहभागी गराउनुपर्छ भन्ने विचार राख्नुभएको छ। हालैको वाम एकताले पनि भव्य परिणाम दिइहाल्ने देखिएन, त्यही भएर मैले कतै आधिकारिक सहभागिता जनाएको छैन र कसैको घोर विरोध वा समर्थन गरेको छैन।”
जनार्दननिकट मानिएका रुकुम पश्चिमकै अर्का माओवादी नेता महेन्द्र केसी पनि दाहालको पक्षमा देखिएका छन्। उनी अहिले कर्णाली प्रदेश सभा सदस्य हुन। यसअघि उनी कर्णालीको आर्थिक मामिला तथा योजनामन्त्री थिए। केसीले ‘आफू दाहालको पक्षमा उभिएको र एकतापछिको नेपाली कम्युनिस्ट पार्टीलाई अवसरका रूपमा प्रयोग गर्ने विषयमा सोच्न’ जनार्दनलाई आग्रह गरेका छन्।
माओवादी युद्धकालदेखि दाहालसँग रहेका जनार्दन शर्मा दाहालको साथ छोड्ने पछिल्ला प्रभावशाली नेता हुन्।
२०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेका जनार्दन २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)को रुकुम जिल्ला सदस्य बनेका थिए। २०४८ सालमा त्यसको कार्यवाहक सेक्रेटरी भएका उनी २०५० सालमा दाङ सेक्रेटरी थिए। २०५२ सालमा दाहालको नेतृत्वमा माओवादीले सशस्त्र विद्रोह सुरु गरेयता उनी निरन्तर माओवादीमा छन्। सशस्त्र द्वन्द्वकालमा माओवादी र सरकारी सुरक्षाकर्मीबीच भएका भिडन्तमा जनार्दनले प्रत्यक्ष नेतृत्व गरेका थिए। २०५६ सालमा चाहिँ उनी माओवादी केन्द्रीय सदस्य भए। त्यसको एक वर्षमै उनी माओवादीको पोलिटब्युरो सदस्य भए भने त्यसको केही समयमै उनी माओवादीको तत्कालीन जनमुक्ति सेनाको महत्त्वपूर्ण जिम्मेवारीमा पुगे। युद्धकालमै उनले सेती-महाकाली क्षेत्रीय ब्युरो इन्चार्ज हुँदै जनमुक्ति सेनाको कमिसारको जिम्मेवारी पनि पाए भने २०६० सालमा उनी माओवादीको डिभिजन कमान्डर र २०६१ सालमा डेपुटी कमान्डर भएका थिए।

२०७० सालमा स्थायी समिति सदस्य भएका जनार्दन २०७८ सालमा माओवादीको संगठन विभाग प्रमुख भए। १० वामबीच १९ कात्तिकमा भएको पार्टी एकताअघि माओवादी अध्यक्ष दाहालले भदौ २०७९ मा जनार्दनलाई उपमहासचिवको जिम्मेवारी ‘अफर’ गरेका थिए। तर, उनले अस्वीकार गरे। त्यतिबेला उनी पार्टी महासचिवका दाबेदार थिए। दाहालले एकाएक देव गुरुङलाई महासचिव बनाएपछि भने जनार्दन बिच्किएका थिए। माओवादी सरकारमा हँदा पटक पटक लाभको पद पाउनेमा पर्छन् जनार्दन शर्मा। माओवादीका तर्फबाट उनी गृह, अर्थ, ऊर्जा, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन्। उनी एकपटक विना विभागीय मन्त्रीसमेत भएका थिए।
माओवादी युद्धकालदेखि दाहालसँग रहेका जनार्दन शर्मा दाहालको साथ छोड्ने पछिल्ला प्रभावशाली नेता हुन्। युद्धकालदेखि दाहालको साथमा रहेका धेरै नेताले यसअघि नै दाहालसँगको सहयात्रा टुंग्याएका छन्। युद्धकालमा माओवादीको वैचारिक जग मानिएका बाबुराम भट्टराई, सैन्य रणनीतिकार रामबहादुर थापा ‘बादल’, वैचारिक नेता मोहन वैद्य ‘किरण’, सीपी गजुरेल, नेत्रविक्रम चन्द, लेखराज भट्ट, खड्गबहादुर विश्वकर्मालगायत कैयौँ नेता दाहालसँग अलग भएर विभिन्न पार्टी तथा समूहमा आबद्ध छन्। सबै नेताहरूले साथ छाडेपछि दाहालले नेकपा (माओवादी केन्द्र)लाई मात्र होइन, त्यो दलको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडालाई नै नेपाली कम्युनिस्ट पार्टीमा विसर्जन गरिदिएका छन्। दाहालको नयाँ दलको चुनाव चिह्न तारा राखिएको छ। जनार्दनलगायत चार दशकभन्दा बढीका सहयात्रीले छाडेपछि नयाँ सारथिसँगको यात्राले कहाँ पुर्याउँछ अहिले नै अनुमान गर्न कठिन छ। तर, दाहालको साथ छाडेका जनार्दनको भावी राजनीतिक यात्रा पनि अन्योलमै छ।