काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

त्यो काण्ड

भरतशमशेरको अगुवाइमा जतिबेला गोरखा दलका कार्यकर्ताहरू गृहमन्त्री बीपी कोइरालाको ज्यान लिने उद्देश्यले उनको निवास पुगे, बीपीले भने- ‘तिमीहरूको कुरा म सुन्छु। फर्क, म मार्न चाहन्नँ।’

२२ कार्तिक २०८२
३१ चैत २००७ मा बसेको मन्त्रिपरिषद्‌को निर्णय (तस्बिर : मातृकाप्रसाद कोइरालाको पुस्तक ‘अ रोल अफ रेभोल्युसन’) र तत्कालीन प्रधानमन्त्री मोहन शमशेर जबरा, राजा त्रिभुवन र बीपी कोइराला।
अ+
अ-

३० चैत २००७। त्रिपुरेश्वरस्थित गृहमन्त्रीको आवास। गृहमन्त्री बीपी कोइरालालाई मार्ने उद्देश्यले भरतशमशेर राणाको नेतृत्वमा गोरखा दलका सदस्यहरू दिउँसो ३:३० बजेतिर खुकुरी र खुँडासहित पुगे। उनीहरू बीपीको शयनकक्षमै पुगिसकेका थिए, बीपीले उनीहरूलाई रोक्दै भने, ‘तिमीहरू राम्रो कुरा गर, म सुन्दछु। फर्क, म मार्न चाहन्नँ।’

देशमा प्रजातन्त्र स्थापना भएको राणाहरूलाई पटक्कै पचेको थिएन। त्यसैको प्रतिक्रियास्वरूप राणा भारदारकै अगुवाइमा गोरखा दल गठन भएर नेपाली कांग्रेसको विरोधमा भड्किलो प्रदर्शन गरिरहेको थियो। ३० चैतमा त गृहमन्त्री बीपीविरुद्ध नै आक्रमण गर्न तम्सियो।

त्यसदिन ४०/५० जनाको हुलमा आएका गोरखा दलका सदस्यहरूले गृहमन्त्रीको क्वार्टरका अधिकांश कोठा तोडफोड गरिसकेका थिए। उनीहरू चामलको बोरा, घिउ-तेलका भाँडा र सुत्ने ओछ्यानलगायत सबै कुरा एक ठाउँमा थुपारेर आगो लगाउन जुटेका थिए। नारा लागिरहेको थियो– विश्वेश्वरप्रसाद मुर्दावाद! टाउको काटेर नलगी छोड्दैनौँ!

ती प्रदर्शनकारीले गृहमन्त्री आवासमा रहेका मीरसुब्बा कालीचरणलाई ढोकामै मरणासन्न हुने गरी कुटे। निवासका एकपछि अर्को कोठा तोडफोड गर्दै जाँदा प्रदर्शनकारी बीपीको शयनकक्षमा पुगे। त्यसबेला बीपी वाणिज्य तथा व्यापारमन्त्री गणेशमान सिंहलगायत नेताहरूसँग संवाद गरिरहेका थिए।

रक्सीले मातेको एक युवक खुकुरी बोकेर दाह्रा किट्दै बीपीलाई प्रहार गर्न अगाडि बढ्यो। बीपीको साथमा ‘पोइन्ट टु’ पेस्तोल थियो। उनले त्यही पेस्तोल युवकलाई दागे। युवक भुइँमा ढल्यो।

भरतशमशेरको त्यो दुस्साहसपूर्ण काण्डपछि यसको प्रभाव नेपाली राजनीतिमा लामो समय रह्यो।

त्यही काण्डका कारण सेना प्रमुखको ‘पावर’ लाई पहिलोपल्ट अंकुश लगाइयो। प्रधानमन्त्री मोहनशमशेर राणाले सिंहदरबारमा रहेको स्थायी बसोबास त्याग्नुपर्‍यो। प्रहरीको भूमिका बलियो बनाउने कार्य सुरु भयो।

गृहमन्त्री बीपीलाई आक्रमण प्रयास हुँदा प्रधानमन्त्री मोहनशमशेरको मातहत रहेको नेपाली सेनाको टुकडी सुरक्षा र उद्धारमा उत्रिएन। राजा त्रिभुवनले दरबारमा रहेको आफू मातहतको सैन्य टुकडी गृहमन्त्रीको निवासमा पठाउनुपर्‍यो। सेनाको यही टुकडीले गोरखा दलका प्रदर्शनकारीलाई पक्राउ गरेर नेपाल प्रहरी (तत्कालीन रक्षा दल)को जिम्मा लगायो। रक्षा दलले भरतशमशेरलाई पनि थुनामा राख्यो।

भरतशमशेर जबरा। तस्बिर : सागरशमशेरको पुस्तक ‘किङडम लस्ट’बाट

घटनाको भोलिपल्ट ३१ चैतमा राजा त्रिभुवनको उपस्थितिमा बसेको मन्त्रिपरिषद् बैठकले थुप्रै महत्त्वपूर्ण निर्णय गर्‍यो। जसमा गोरखा दलको गतिविधिमा प्रतिबन्ध लगाउने, भरतशमशेरलाई कानुनी दायरामा ल्याउने, रक्षामन्त्री (बबरशमशेर) र सेना प्रमुख (केशरशमशेर)लाई सार्वजनिक रूपमा माफी मगाउने र यस कार्यको निन्दा गर्न लगाउने, सेनाको डेपुटी चिफको जिम्मा किरणशमशेर राणालाई दिने, प्रधानमन्त्रीका गार्डहरूको संख्या घटाउने र मुक्ति सेनाले आफ्नो आवश्यकता र प्रभावकारिता प्रमाणित गरिसकेको हुनाले सेनासँग रहेका हातहतियार तथा बन्दोबस्तीका सामान उपलब्ध गराउने निर्णय थिए।

मन्त्रिपरिषद्को यही निर्णयका कारण घटनाको १० दिनपछि प्रधानमन्त्री मोहनशमशेर सिंहदरबारको लामो बसाइ छोडेर ९ वैशाख २००८ मा सपरिवार महाराजगन्जस्थित लक्ष्मीनिवास सरे। श्री ३ महाराज चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा सिंहदरबारको निर्माण गर्न लगाएका थिए। पछि यो भवन उनले देशलाई बेचे र उनीपछिका राणा प्रधानमन्त्रीको निवास र कार्यालयका रूपमा प्रयोग हुन थाल्यो।

मोहनशमशेरले आवास छाडेपछि सिंहदरबारलाई देशको मुख्य प्रशासनिक केन्द्र बनाइयो। सिंहदरबार जनताका लागि पनि खुला गरियो। ११ वैशाख २००८ देखि दैनिक बिहान ८ देखि १० बजे र बेलुका ४ देखि ६ बजेसम्म गरी चार घण्टाका लागि खुला गरिएको थियो।

२००७ सालको क्रान्ति सफल भएपछि मोहनशमशेरले राणाहरूको कोटाबाट आफ्नै भाइहरू बबरशमशेरलाई रक्षामन्त्री र केशरशमशेरलाई सेना प्रमुख बनाएका थिए। सात सालमा राणा, राजा र नेपाली कांग्रेसबीच दिल्ली सम्झौता हुँदा राणाहरूका तर्फबाट पाँच र नेपाली कांग्रेसका तर्फबाट पाँचजना सम्मिलित अन्तरिम सरकार बनाउने सहमति भएको थियो।

सोही मन्त्रिमण्डलमा रक्षा मन्त्रालय सम्हालेका बबरशमशेरका नाति थिए, भरतशमशेर। प्रजातन्त्र स्थापना भएको दुई महिना नबित्दै गृहमन्त्रीलाई मार्न जाने भरतशमशेरको त्यो दुस्साहसका कारण बबरशमशेरले चार महिनाभित्रै आफ्नो पद गुमाउनुपर्‍यो।

नेपालको पहिलो मन्त्रिमण्डल

भरतशमशेरलाई जेलबाट छुटाउन २० जेठमा राजदरबारको मूलढोकानजिकै ‘वीरांगना दल’ नामक समूहले आपत्तिजनक नारा लगाउँदै जुलुस निकाल्यो। दिउँसो ४ बजे निस्किएको त्यो जुलुसका कारण प्रधानमन्त्री मोहनशमशेर यति दबाबमा परे, उनले त्यसको चार दिनपछि जनतालाई स्पष्टीकरण दिनुपर्‍यो। २४ जेठमा निकालिएको विज्ञप्तिमा उनले भन्नुपर्‍यो- ‘गोरखा दल र त्यही किसिमका संस्थाहरूको बारेमा अनेक प्रकारका हल्ला भएको सुनिन्छ। तथा त्यस्ता संस्थालाई राणाहरूले सहायता गरेका छन् भनिन्छ, तपाईंहरू सबैलाई थाहै होला कि श्री गृहमन्त्री उपर गोरखा दलको हिंसात्मक आक्रमण भएपछि तथा सो दलले साम्प्रदायिक कार्यवाही गरेकोले त्यसलाई सरकारले गैरकानुनी घोषणा गरेको हो। तसर्थ मेरा नातेदार र देशवासीहरूलाई यो अपिल गर्न चाहन्छु कि सबैले आफ्नो देशको भलाइलाई मनमा उच्च स्थान दिई कुनै साम्प्रदायिक दल वा संगठन तथा हिंसात्मक कार्यवाहीलाई सहायता नदिऊन्। अब हामीहरू सबैले प्रजातन्त्रात्मक सिद्धान्तलाई अपनाइसकेका छौँ।’

उनले यो भनिरहँदा गोरखा दलले भने आफ्नो गतिविधिमा कुनै सुधार ल्याएन। उसले राजधानी काठमाडौँमा मात्र होइन, पश्चिम नेपालमा पनि हिंसात्मक गतिविधि फैलायो।

बीपीलाई आक्रमण प्रयास भएको घटनाका प्रत्यक्षदर्शी १०३ वर्षीय लीलाप्रसाद लोहनी भन्छन्, “नेपालमा प्रजातन्त्र स्थापना भएको राणाशासकहरूले पचाउन सकिरहेका थिएनन्। उनीहरूमा त्यो तुस लामो समय रह्यो।”

घटनाको तीन महिनाभित्रै अप्रत्याशित रूपमा गृहमन्त्री बीपीले आफ्नो ज्यान लिनखोज्ने भरतशमशेरलाई थुनामुक्त गर्ने निर्णय गरे। यो निर्णय राजा त्रिभुवनलाई मन परेको थिएन। त्रिभुवन विश्वविद्यालयका इतिहासका पूर्वप्राध्यापक हेमन्त राणा भन्छन्, “त्यति ठूलो काण्ड गर्ने व्यक्तिलाई छोड्दा मसँग एकपल्ट पनि सोधपुछ गरिएन भनेर उहाँ (त्रिभुवन) रिसाउनुभएको थियो।”

तर, बीपीको भनाइ थियो– प्रजातन्त्रमा व्यक्ति गौण हुन्छ, उसले लिने विचार महान् हुन्छ। त्यसैले प्रजातान्त्रिक व्यवस्थामा हिंसाविना सबैले आफ्नो कुरा राख्न पाउनुपर्छ।

भरतशमशेरको समूहले आफ्नो ज्यान लिने हर्कत गरेपछि बीपीले ५ वैशाख २००८ मा जनताको नाममा सन्देश दिँदै भनेका थिए-

‘प्रजातन्त्रवादमा विरोधी दल खडा हुन्छन् र हुनु पनि पर्छ। तर, त्यसको आधार व्यक्तिगत द्वेष स्वीकार्य हुनु हुँदैन। इमानदारीका साथ सोचेर बाटो पहिल्याउनुपर्छ। हिंसाको भाव जगाएर जाति जातिमा, सम्प्रदाय सम्प्रदायमा विद्वेषका भावना भरेर अशान्ति मच्चाई सरकारलाई बदल्ने प्रयत्न हुन्छ भने प्रजातन्त्रवाद कहिल्यै पनि स्थापित हुँदैन। हिंसा र गुप्त संगठन या साम्प्रदायिक विद्वेषको भावनाबाट एकतन्त्री प्रणाली स्थापित हुन्छ। यो कुरा हामीले स्पष्ट बुझ्नुपर्छ। मैले दुःखको साथ भन्नुपर्छ कि अहिलेसम्म जति पार्टी या दल बनेका छन्, तिनीहरूमा कुनै स्पष्ट आधार देखिँदैन, जसमा विभिन्न दल बन्ने आवश्यकता होस्। पहिले हामीले यो कुरा जिम्मेदारीका साथ सोच्नुपर्छ कि नयाँ नयाँ पार्टी बन्ने आवश्यकता छ कि छैन। यदि छ भने कुन आधारमा, अनि मात्र दल खडा गरेको खण्डमा राजनीतिक पार्टीहरू जिम्मेदारीका साथ काम गर्छन् र देशमा प्रजातान्त्रिक वातावरण कायम रहन्छ।’

जेलबाट बाहिरिएपछि भरतशमशेरको गतिविधि पहिलेजस्तो ध्वंसात्मक भएन। २०१५ सालमा पहिलो आम निर्वाचन हुँदा उनको नेपाल राष्ट्रवादी गोरखा परिषद्ले पनि भाग लियो। नेपाली कांग्रेस ७४ सिट ल्याएर पहिलो दल बन्दा गोरखा परिषद्ले १९ सिट ल्यायो र दोस्रो दल भयो। उसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता बीपी कोइरालाले नै दिलाए। २०१७ सालको काण्डपछि त भरतशमशेरले बीपीलाई आफ्नो राजनीतिक गुरु नै माने। सात वर्षअघि ८९ वर्षको उमेरमा भारतको कोलकोतामा निधन नहुँदासम्म उनी बीपीको अनुयायी बनेर बसे।