२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।

मस्तिष्कघातपछि दुबै मिर्गौला फेल भएका आलमको शनिबार बिहान २:५९ मा निधन भएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले बताए। आलम तिहारअघिदेखि केएमसीको भेन्टिलेटरमा उपचाररत् थिए।

आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो। पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आलमको उपचारका क्रममा आज निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिए।

आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए। विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री थिए।

त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए। उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए।

उनीलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो।

पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन्।