२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले करिब एक महिनादेखि पार्टीको केन्द्रीय समिति बैठक बसे पनि बैठक भने नियमित कि विशेष महाधिवेशन भनेर रूमल्लिनु दुखद भएको बताएकी छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार उनले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीले राष्ट्र राजनीतिबारे छलफल गर्नुपर्नेमा पार्टी भने महाधिवेशन अगाडि कि पछाडि भन्नेकै बहस रुमल्लिएको बताइन्।

“योभन्दा अगाडिका धेरै मिट मिटिङहरु नेता शेखर कोइरालाले बारम्बार समयमा अधिवेशन गरौँ समयमा अधिवेशन गरौँ भन्नुभएको थियो। म सोध्न चाहन्छु समयमा अधिवेशन गर्न हामीले किन सकेनौं?‚” उनले बैठकमा भनिन्।

समयमै महाधिवेशनको माग गर्दै प्रसाईंले समयमै नेविसंघलगायत भ्रातृ संस्थाको अधिवेशन गराउन सकेको भए देशका धेरै संचरनामा क्षति नहुने तर्कसमेत गरिन्। “मेरो र तेरो भनेर अधिवेशन नगराउने अनि नेविसंघ ८-९ सय सदस्य बनाउँदा खै त आज सभापतिको घरदेखि देशभर संरचना भत्किँदा कोही उपस्थित हुन सकेन। त्यसकारणले मेरो होइन संगठन र मुलुकका लागि अधिवेशनहरू टाइममा गराउनुपर्छ‚” उनले थपिन्।

नेतृ प्रसाईंले चुनावभन्दा अगाडि नै पार्टीको गर्नुपर्ने र महाधिवेशन गर्दा वडा गाउँ क्षेत्र जिल्ला प्रदेश हुँदै केन्द्रको अधिवेशन गर्नुपर्ने धारणासमेत राखिन्। उनले ५४ प्रतिशत कार्यकर्ताले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको प्रसंग निकाल्दै भनिन्‚ “४६ र ५४ प्रतिशत नभनी सबलाई एक ठाउँ राखेर नेपाली कांग्रेसको एउटा महाधिवेशनको तालिका आओस् म आग्रह गर्दछु।”

संसद् विघटनको विषयमा उनले देशको सबैभन्दा ठुलो नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेको तथा सरकारले गर्ने हरेक निर्णयले संसद् विघटनको अवस्थामा पुग्ने दुखित अवस्था बनेको उनले सुनाइन्।

“सरकार बनाउँदै गर्दा हामीले भनेका थियौं संविधान संशोधनको विषय लिएर हामी जान्छौँ भनेर। तर एउटा समिति पनि अढाइ वर्षसम्म हामीले बनाउन सकेनौँ। त्यसले गर्दा पनि यतातिरको गएको हो कि भन्ने मलाई लाग्छ‚” उनले थपिन्। बैठकमा उनले संसद् विघटन असंवैधानिक नै भए पनि नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले चुनावमा जाने निर्णय तुरुन्त लिनुपर्ने धारणा राखिन्।