काठमाडौं। नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार) केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए।
बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झन्डा आधा झुकाउने र निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको उनले जानकारी दिए।
नेपाली कांग्रेस रौतहटका पूर्वसभापतिसमेत रहेका आलमको गएराति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो।
