व्यक्तिवृत्त
पहिलो सिजनको उत्कृष्ट प्रदर्शनपछि पुनः फर्किएका छन् लाहिरु जनकपुर बोल्ट्समा
क्रिकेट इतिहासका केही इनिङ्स यस्ता छन्– जसले स्कोरबोर्डमा होइन, खेलमा ठूलो अर्थ बोकेको हुन्छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो संस्करणको खेल सञ्चालन हुनै लाग्दा, यस्तो अर्थ बोकेका खेलाडीहरूलाई आफ्नो टिममा भित्र्याउने अभियानको सुरुआत हुन थालेको छ।
यही पंक्तिमा पर्छन्, श्रीलंकामा जन्मिएका जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलान्था। जो यतिबेला अमेरिकामा बसेर आफ्नो क्रिकेट करिअरलाई अगाडि बढाइरहेका छन्।
पहिलो संस्करणको एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनलमा उनले बनाएको ८७ रनको इनिङ्स सायदै कसैले भुलेका होलान्। लिग र क्वालिफायर चरणको खेलमा सुदूरपश्चिमविरुद्ध पराजय भोगेको जनकपुरले उनकै उत्कृष्ट इनिङ्सका कारण उपाधि जितेको थियो।
लिगमा ७२ रनको पराजय र पहिलो क्वालिफायरमा आठ विकेटको फराकिलो हार बेहोरेको जनकपुरको फाइनलअघि आत्मविश्वास डगमगाएको थियो। तर, लाहिरु एक्लैले पूरै खेलको कथा उल्टाइदिए।
सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटा अहिले त्यो दिन सम्झन पनि चाहँदैनन्। भन्छन्, “हामीले राम्रो खेलेका थियौँ। तर, लाहिरुको इनिङ्स र आसिफ शेखसँगको साझेदारीले खेल उल्टियो।”
पहिलो एनपीएलमा आफ्नो एक्लो दमदार प्रदर्शनले खेलको नतिजा उल्टाएका उनै लाहिरुलाई दोस्रो संस्करणमा पनि जनकपुरले भित्र्याएको छ। अहिले उनी पहिलो संस्करणमा जनकपुरका समर्थकबाट पाएको माया, समर्थन र सफलताले यति उत्साही छन् कि अर्को टोलीबाट खेल्ने कल्पना नै गरेका छैनन्।
श्रीलंका टु अमेरिका
लाहिरुको कथा श्रीलंकाको कलुतारा सहरबाट सुरु हुन्छ। २८ मे १९९४ मा जन्मेका उनले सेन्टपिटर्स कलेज, कोलम्बोबाट आफ्नो अध्ययनसँगै क्रिकेटलाई अगाडि बढाएका थिए। सुरुमा उनी लेग–स्पिन गर्थे। तर, कलेजको पहिलो टोलीमा स्थान बनाएपछि विकेटकिपर–ब्याटर बने।

लाहिरु मिलान्था। तस्बिर : उनको फेसबुक
१२ डिसेम्बर २०१३ रागामा क्रिकेट क्लबबाट लिस्ट ‘ए’ मा डेब्यु गरेपछि उनी फर्स्ट क्लास र टी-२० क्रिकेटमा सफल भए। २०१७/१८ को घरेलु सिजनमा उनले श्रीलंकाको प्रिमियर लिमिटेड ओभर प्रतियोगिताका ६ खेलमा ४४८ रन बनाए। उनी त्यस प्रतियोगिताका शीर्ष रन-स्कोरर पनि हुन्। यसपछि उनले सुपर फोर प्रोभिन्सियल र सुपर प्रोभिन्सियल एकदिवसीय दुवै प्रतियोगिता खेले र फेब्रुअरी २०१९ मा ‘सर्वश्रेष्ठ ब्याटर’ को अवार्ड जिते।
सन् २०२० मा भएको प्रिमियर लिगमा २५२ रनको दोहोरो शतक प्रहार गरेपछि उनको ख्याति एक्कासि चुलियो।
जनकपुरका निर्णायक खेलाडी
एनपीएलको पहिलो संस्करणमा जनकपुरको सफलताको कथा लाहिरुबिना अपुरो हुनेछ। उनको अनुशासन, धैर्य र ‘इनिङ्स बिल्डअप’ गर्ने क्षमता नै टोलीको माथिल्लो क्रम सम्हालिने आधार बन्यो।
प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध उनले ७५ रनको अविजित इनिङ्स खेले। यसबापत उनलाई ‘प्लेयर अफ द म्याच’ चुनियो। उनको खेलले टिममा जित मात्र भित्र्याएन, आत्मविश्वास पनि जगायो। तीन खेलमा उनले ठीकठाक प्रदर्शन गरे। यसले जनकपुरको प्रारम्भलाई स्थिर तुल्यायो।
तर, लिगको पाँचौँ खेलमा उनले एकाएक लय गुमाए। सुदूरपश्चिमविरुद्धको पहिलो भेटमा सात रन मात्र बनाए। यसपछिको चार खेलमा उनको ब्याट मौन रह्यो। उनी आकस्मिक होइन, ठूलो क्षणमा चम्किन सक्ने खेलाडी हुन्। फाइनल खेलमा सबैले त्यसको आभास पाए। सुदूरपश्चिमविरुद्ध ८७ रनको दमदार इनिङ्स खेल्दै उनले टिमलाई उपाधि दिलाए। रन बनाउने उनको शैली र आत्मविश्वासले दर्शकहरू मन्त्रमुग्ध छन्। उनले साझेदारलाई प्रोत्साहित गरे, विपक्षीलाई दबाबमा राखे र खेलको गति नियन्त्रित गरे।
“यो अनुभव साँच्चै अद्भुत थियो। शब्दमा भन्नै गाह्रो छ,” लाहिरुले भनेका छन्। एनपीएलभन्दा अगाडि क्यानले आयोजना गरेको नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारलाई पहिलो संस्करणमै उपाधि दिलाउन उनले यस्तै प्रभावशाली इनिङ्स खेलेका थिए। फाइनलमा विराटनगर किङ्सविरुद्ध ४१ रन बनाएका उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा थिए। त्यतिबेला उनले ११ इनिङ्समा दुई अर्धशतकसहित ३४९ रन बनाए। अर्कोपल्ट प्रतियोगिताको नाम फेरियो। उनलाई पनि टिम फेर्न अन्य फ्रेन्चाइजले प्रयास गरेका थिए। तर, उनले पुरानो व्यवस्थापकको लगानी रहेको टिम नै रोजे।
रोचक कुरा, यो प्रतियोगिताअघि उनले जिम्बावे टी-१० लिगमा पनि जनकपुर बोल्ट्सकै जस्तो नाम भएको हरारे बोल्ट्सबाट खेलेका थिए। उक्त टोलीमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम पनि समावेश थिए। त्यसैले उनलाई जनकपुर बोल्ट्सको नामले लोभ्यायो। पहिलो संस्करणको एनपीएलमा फिक्सिङमा परेको टी-२० लिगभन्दा फरक अनुभूति रह्यो, उनका लागि।

नेपाल प्रिमियर लिगमा रनका लागि दौडिरहेका लाहिरु मिलान्था। तस्बिर : उनको फेसबुक
फाइनल खेलमा दबाब त थियो नै, तर उनको नजरमा त्यो चुनौती बन्यो। “हामीसँग गुमाउनुपर्ने केही थिएन। पावरप्लेमा अधिकतम लाभ उठाउनुपर्ने थियो। म र आसिफले पहिलेका खेलहरूमा राम्रो प्रदर्शन गरेका थियौँ। त्यसैले दिमागमा अतिरिक्त बोझ नराखी सफा मनले खेल्यौँ। आसिफले पनि सानदार प्रदर्शन गरे। मैले उनलाई सजिलै खेल, चिन्ता नगर, डु-अर-डाईको खेल छ भनेर सम्झाइरहेँ,” उनले भनेका छन्।
लाहिरु १५.३ ओभरमा आउट हुँदा जनकपुरलाई १९ रन चाहिएको थियो। तर, उनी आउट भएसँगै १८५ को लक्ष्य पछ्याउन जनकपुरलाई अन्तिम आठ बलसम्म संघर्ष गर्नुपर्यो। धन्न हर्ष ठाकरले ३० रनको अविजित इनिङ्स खेले र उनको योगदान खेर जान पाएन।
प्रतियोगिताभर उनले दुई अर्धशतकसहित २९३ रन बनाए। योसँगै उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि बने। ३५ चौका प्रहार गरेका लाहिरुले धेरै ‘स्टम्पिङ र डिसमिस’ गर्ने विकेटकिपरको सूचीमा पनि आफूलाई शीर्षस्थानमा उभ्याए।
यसपल्ट उनलाई पुरानै प्रदर्शनका आधारमा अनुबन्ध गरिएको जनकपुरका निर्देशक अमितराम श्रेष्ठ बताउँछन्। “लाहिरुलाई अनुबन्ध गर्नु जनकपुरका लागि रणनीतिक कदम हो। उनीसँग नेपालमा खेलेको अनुभव छ र त्यो हाम्रा लागि ठूलो सम्पत्ति हो,” उनी भन्छन्।