२२ कार्तिक २०८२
अ+
अ-

जनकपुरधाम। मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

सोनललाई मुख्यमन्त्री बनाउन उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दावी पेश गरेका थिए।

सरकारमा दावी गर्ने समय पाँच दल रहेपनि अहिले सोनलको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन्। सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेशसभामा हाल कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यकता पर्छ।

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन्।

प्रदेशसभाका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले भने विपक्षमा छन्।