काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग गराउन माग गर्दै सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलाएको छ।

एन्फा प्रवक्ता सुरेश शाहले विरोधमा उत्रिएका नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधिलाई भोलि (सोमबार) वार्तामा आउन आग्रह गरेका हुन्।

“सडक प्रर्दशनमा व्यक्त सहिद स्मारक ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवं भावनाहरुलाई संवादमार्फत नै सम्बोधन गर्ने मान्यताबमोजिम वार्तामा बोलाइएको छ,” उनले भने।

गत १७ कात्तिकमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो। बरु त्यसको सट्टा आगामी ९ पुसबाट राष्ट्रिय लिग आयोजना गर्ने सहमति भएको थियो। त्यसअनुसार चार वर्षपछि मात्र शीर्ष लिग सुरु हुने सम्भावना देखिएपछि खेलाडी सडकमा उत्रिएका थिए।

गत २० कात्तिकमा खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर विरोध प्रदर्शन गरेका थिए। आफूले उठाएको माग एक साताभित्र पूरा नगरे अझ कडा संघर्ष गर्ने चेतावनी दिएका थिए। सो चेतावनीको तीन दिनपछि मात्रै एन्फाले खेलाडीलाई वार्तामा बोलाएको हो।

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन। बरू एन्फाले शीर्ष डिभिजनका ६ क्लबलाई समेटेर राष्ट्रिय लिग गराउने घोषणा गरेको छ। यो लिगमा शीर्ष डिभिजन च्याम्पियन चर्च ब्वाइजसँगै मच्छिन्द्र, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्यूरोड टिम (एनआरटी) लिगमा सहभागी हुनेछन्।

यस्तै हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगका उत्कृष्ट चार क्लबले सहभागिता जनाउनेछन्।

यो पनि…

‘ए’ डिभिजन लिग स्थगनको विरुद्धमा सडकमा उत्रिए खेलाडी