काठमाडौँ। मनाङमा घुम्न आएका दुई भारतीयको शव सशस्त्र प्रहरीले फेला परेको छ। ३ कात्तिकदेखि सम्पर्कविहीन भएका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो फेला पारेको हो।
मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित ग्याल्सेन होटेलबाट ३ कात्तिकमा वडा नम्बर ५ मा रहेको मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरु सम्पर्कविहीन भएका थिए । प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक बाबुछोरी हुन्।
उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटेलले खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।
सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजी गरिरहेकामा नभेटिएपछि पुन: २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरुको शव गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो।