गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ।
कार्यालयले आज (आइतबार) सूचना जारी गर्दै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका जिल्लाका आठ जनालाई परिचयपत्र वितरण गर्ने जनाएको हो।
घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भइपरी खर्चबापतको जनही २० हजार रुपैयाँसमेत वितरण गरिने प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए।
जेनजी आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, ध्रुव परियार, कुमार अधिकारी र दिवशबाबु श्रेष्ठ घाइते भएका थिए। “सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुविधा दिनसक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ,” सहायक प्रजिअ चित्राङ्गत बरालले भने।
