काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली भुटानी शरणार्थीसम्बन्धी दुई वर्ष पुरानो प्रकरणको अनुसन्धान सुरु गरेको छ।
यसक्रममा प्रहरीले रौतहट फतुला हर्साह १ घर भएका ४२ वर्षीय निरञ्जनकुमार खरेललाई पक्राउ गरेको छ। खरेललाई ब्युरोको टोलीले शुक्रबार चितवनबाट पक्राउ गरी हिरासतमा राखेको छ। ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा खरेललाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
खरेललाई प्रहरीले दुई वर्षअघि पनि खोजी गरेको थियो। त्यसबेला खरेल फेला परेका थिएनन्। प्रहरीले यससँगै नक्कली शरणार्थी प्रकरणको अधुरो अनुसन्धान थालेको बुझिएको छ। नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध १० जेठ २०८० मा अदालतमा मुद्दा दायर भएको थियो।
खाण धरौटीमा रिहा भएका छन्। यस्तै रिहा भएकामा शरणार्थी नेता टेकनाथ रिजाल तथा प्रतिवादीहरू सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा र शमशेर मियाँ छन्। अन्य थुनामा छन्। थुनामा हुनेमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र हरिभक्त महर्जनलगायत छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै अन्य केही व्यक्ति भने अझै फरार रहेको ब्युरोले जनाएको छ।
मुद्दा दर्ता गर्दा आरोपीहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गरिएको थियो। नक्कली शरणार्थी प्रकरणमा ११३ जनाले २२ वटा उजुरी दिएका थिए। यो प्रकरणमा कांग्रेस नेतृ आरजु राणा देउवा र खाणपत्नी मञ्जुसमेतको संलग्नता खुलेको थियो। तर, आरजु र मञ्जुलाई प्रहरीले प्रतिवादी बनाएन, बयानसमेत लिएन।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख रहेका उनै मनोजकुमार केसी अहिले ब्युरोको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्। एआईजी केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको बताए। “खरेललाई हामीले त्यतिबेलै खोजेका थियौं। उनी भेटिएका थिएनन्,” केसीले भने, “अब उक्त प्रकरणको अधुरो अनुसन्धान सुरु भएको छ।”
एआईजी केसीले आरजु र मञ्जुमाथि अनुसन्धान हुन सक्ने संकेत गरे। “प्रमाण संकलन गरिरहेका छौं, प्रमाण फेला परे आरोपीहरू जोसुकै भए पनि दायरमा आउँछन्,” उनले भने।
के थियो अडियोमा?
१२ चैत २०७९ मा मोरङका केशव दुलाल पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो। अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा बालकृष्ण खाण, एमाले सचिव रायमाझी, सचिव पाण्डे पक्राउ परे।
उनीहरू पक्राउ परेपछि शरणार्थी प्रकरणमा राणा र खाणले रकम बुझाएको अडियो फेला परेको थियो। उक्त अडियो पुर्पक्षमा कारागारमा रहेका सन्देश शर्माको आवाजसँग मिलेको थियो।
सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीच भएको कुराकानीमा राणालाई साढे दुई करोड र खाणलाई ६ करोड रकम बुझाएको उल्लेख थियो। अडियो परीक्षण गर्दा शर्माकै रहेको खुलेको थियो।