काठमाडौँ। विश्वप्रसिद्ध फुटबलर अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सीले करिअरको ४००औँ असिस्ट पूरा गरेका छन्। ३८ वर्षीय मेसीले आइतबार फ्लोरिडाको फोर्ट लडरडेलस्थित चेस स्टेडियममा भएको मेजर लिग सकर कप (एमएलएस) प्लेअफको नेस्भिल एफसीविरुद्धको निर्णायक खेलमा यो उपलब्धि हासिल गरेका हुन्।
उक्त खेल इन्टर मियामीले ४–० ले जित्दा मेस्सीले पहिलो हाफमै दुई गोल गरेका थिए। त्यसपछि उनले चौथो गोलका लागि तादेओ आलेन्देलाई असिस्ट गर्दै इन्टर मियामीलाई सेमिफाइनलमा पुर्याए।
योसँगै मेस्सी ४०० असिस्ट गर्ने एक मात्र सक्रिय खेलाडी बनेका छन्। उनी अब फेरेन्क पुस्कासको सर्वकालीन असिस्ट रेकर्ड बराबरी गर्न मात्र चार असिस्टबाट टाढा छन्।
मेस्सीले क्याटलान क्लब बार्सिलोनाबाट २६९, अर्जेन्टिनाबाट ६०, पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट ३४ र इन्टर मियामीबाट ३७ असिस्ट गर्दै विश्व फुटबलमा आफ्नो उत्कृष्टता फेरि प्रमाणित गरेका छन्। यस सिजनको प्लेअफमा उनले तीन खेलमै पाँच गोल र दुई असिस्ट गरिसकेका छन्। नियमित सिजनमा उनको खातामा २९ गोल र १९ असिस्ट थियो। योसँगै उनले गोल संख्या ८९६ पुर्याएका छन्।
इन्टर मियामी अब पूर्वी क्षेत्रको सेमिफाइनल सिरिजमा एफसी सिनसिनाटीसँग भिड्नेछ। पहिलो खेल नोभेम्बर २२ मा हुनेछ।