काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ कार्तिक २०८२
अ+
अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएको चौबीस घण्टा बिते पनि नयाँ सरकारको आह्वान हुन सकेको छैन।

मधेस प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठन भएको र त्यो सरकारले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएकाले अब कुन धाराअनुसार सरकार निर्माण गर्ने भन्ने विवाद देखिएको छ। यही विवादका कारण सरकार निर्माणका लागि आह्वान हुन नसकेको हो।

नेकपा एमालेले संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दललाई सरकार बनाउने मौका दिनुपर्ने माग गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लोसपा, नेकपा एकीकृत समाजवादीसहितले धारा १६८ को २ अनुसारै पुनः सरकार गठन हुनुपर्ने माग गरिरहेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफू अहिले परामर्शमै रहेकाले एक-दुई दिन लाग्ने सक्ने बताएकी छन्। नेकपा एमालेबाहेक दल एकजुट भएर आइतबार साँझ छलफलका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। दलहरूसँगको छलफलमा प्रदेश प्रमुख भण्डारीले आफू संविधानको मातहतमै रहेर निर्णय गर्ने आश्वासन दिएको मुख्यमन्त्री सोनलले बताए।

आफू संविधानको मर्मअनुसार अगाडि बढ्ने र सोहीअनुसार केही समय लाग्ने प्रदेश प्रमुखले बताएको सोनलले जानकारी दिए। सोनलले भने‚ “प्रदेशमा कुनै पनि प्रकारको अराजकता हुनु हुँदैन त्यसमा सबै दलको एकमत छ। संविधानवादको कुरामा हामी एकढिक्का छौँ।”

यो पनि…

माओवादी केन्द्रभित्रको विवादले ढल्यो सोनल सरकार

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आह्वान गरेर एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरेर काठमाडौँ जाने सुँइको पाएपछि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा पुगेको जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव बताउँछन्।

यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णाप्रसाद यादवले आफूहरु गठबन्धनभन्दा पनि संविधानअनुसार सरकार गठन हुनुपर्ने पक्षमा रहेको बताए। उनले भने‚ “कांग्रेस अहिले कुनै पनि गठबन्धनमा छैन। संविधानअनुसारै प्रदेश प्रमुखबाट सूचना आह्वान होस् भन्नका लागि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा गएका हौँ।”

प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि सोनलले शनिबार राति पदबाट राजीनामा दिएका थिए। विभिन्न राजनीतिक दलसँग आइतबार छुट्टाछुट्टै भेटेकी प्रदेश प्रमुखले भोलि (सोमबार) कानुन व्यवसायी तथा संविधानका जानकारसँग छलफल गर्ने तयारीमा छन्।

यसैबीच आइतबार मधेस प्रदेशको प्रशासनिक भवन रहेको मधेस भवनअगाडि लोसपाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।