काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ कार्तिक २०८२
अ+
अ-

बैतडी। जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ । जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए ।

पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन् । उनले भने, “जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण गरिने भएको छ, त्यसका लागि यहाँ रहेका ६० कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेका हौँ, यही हप्ताभित्रै स्थानान्तरण गरिसक्ने योजना छ ।”

यहाँ रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धुरा, बझाङ, कञ्चनपुर र बाँके स्थानान्तरण गरिनेछ । नयाँ बन्दीगृह निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख भण्डारीले बताए ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरणको तयारी भएको हो । स्थानान्तरणपश्चात् निर्माणको काम हुने जनाएको छ ।

नयाँ बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको र निर्माणका लागि  केकेजे कालिका एसबी जेभी सुकेधारासँग सम्झौता भएर कार्यादेश आइसकेको प्रमुख भण्डारीले बताए ।

पचासी जना क्षमताको नयाँ बन्ने बन्दीगृह विसं २०८४ असार १५ सम्म निर्माणसम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । विसं २०४० मा निर्माण भएको हालको बन्दीगृह जीर्ण अवस्थामा रहेको र त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुरक्षा चुनौती र व्यवस्थापनमा समस्या हुँदै आएको थियो । नयाँ बन्दीगृह बनेपछि व्यवस्थापनमा सहजता आउने प्रमुख भण्डारीको विश्वास रहेको छ ।