झापा। जेन-जी आन्दोलनका क्रममा दमकमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका ३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५ का १९ वर्षीय रियाज सिलवाल छन्। दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गत २४ भदौमा जेन-जी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न रहेको आरोप छ। योसँगै इप्रका दमकमा आक्रमण गर्ने चारजना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दुई दिनअघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथरको मिक्लाजुङ ५ स्थायी ठेगाना भई हाल दमक ५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ।
यसैगरी जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट ६ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयमा आक्रमण गर्नेको भिडियो र फोटोका आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।