एमालेको ‘घर फर्क अभियान’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति भएको दाबी गरेका छन्।
राष्ट्रिय सभागृहमा सोमबार आयोजित ‘घर फर्क अभियान’को राष्ट्रिय घोषणा सभामा उनले एमाले फेसबुकमा रित्तो भएको तर घर-घरमा रहेको जिकिर गरे।
“नेकपा एमालेको एउटा तिरतिरे खोल्सो होइन। यो एउटा महासागरजस्तो संगठन हो। यसमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति छ,” ओलीको दाबी छ, “युवा छैन एमालेसँग भन्छन् नि, अनि कोसँग छन् त युवा ? फेसबुकको युवा होइन, घर-घरको युवा नेकपा एमालेसँग छ। फेसबुकमा हेर्ने हो भने केही पनि छैन एमालेसँग। रित्तै भइसक्यो एमालेसँग।”
यो पनि…
यस्तै उनले २४ भदौअघि टोलटोलमा युवाहरूको दस्ता बनाउन चुकेको पनि बताए। “जनताको सुरक्षा जनताले गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन हामी चुक्यौं, त्यो हाम्रो गल्ती भयो,” ओलीले भने, “यसप्रकारको अवस्था निर्माण गरिन्छ भनेर हामीले सोचेनौं। यतिसम्म गर्लान् भनेर सोचिएन। आफैंमाथि विश्वास गर्नुपर्छ भनेर हामीले युवा दस्ता बनाउनुपर्थ्यो, हामी त्यहाँ चुकेकै हो।”
उनले एमालेले टोलटोलमा युवा दस्ता गठन गरिरहेको भन्दै ५ मंसिरबाट राष्ट्रियस्तरको दस्ता निर्माण थाल्ने पनि बताए।
‘जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो’
उनले जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको दाबीसमेत गरे। जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ। यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनुपर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्केको ओलीले बताए।
यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीको भनाइ छ। हालै बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र वरीयता खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे। एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताए। एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्न उनीहरू घर फर्केको ओलीले बताए।
‘प्रतिनिधिसभा पुन:स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्छ’
उनले प्रतिनिधिसभा पुन:स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताए। “प्रतिनिधिसभा पुनर्स्थापित गरेर मात्र देशलाई ट्र्याकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं‚” ओलीले भने, “हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्छ।”
प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र विकल्प भएको भन्दै ओलीले देशभरका पार्टी कमिटीलाई त्यसैमा केन्द्रित भएर अभियान चलाउन आग्रह गरे।
“अरुले बोल्न सकेनन् भनेर हामी एक्लै पर्यौं भन्ने चिन्ता गर्नुपर्दैन। सत्यको पछाडि विस्तारै जनमत बन्दै जान्छ। हामी जनमत बनाउनेतिर नै अग्रसर हुनुपर्छ‚” ओलीले थपे, “हामीले सही नीति लिएका छौं, त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्छ। त्यसैले देशभरका पार्टी कमिटी, संगठन, पेसागत संघ-संगठनलाई अलमलमा नपरी, द्विविधा नराखी प्रतिनिधिसभा पुनर्स्थापित अभियानमा जुट्न आग्रह गर्दछु।” उनले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय व्यक्तिको नभई पार्टीको भएको जिकिर पनि गरे।
यो पनि…