२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रक्कीप्रसाद साह र सुजित यादवले आज (सोमबार) रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक जिकिर गरिएको छ ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै महोत्तरीको बर्दिबासमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिन्। उनले मुख्यमन्त्री पदको शपथ पनि सोही होटेलमै गराइन्।

मधेस प्रदेश सभाबाट तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ को ३ बमोजिम एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा सुवेदीले नियुक्तिसँगै शपथ गराइन्।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) पदभार ग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरमा नियुक्तिको विरोधमा विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले विभिन्न मन्त्रालयका फर्निचरलगायत सामग्री तोडफोड गरे। उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयमा तालाबन्दीसमेत गरे। जसकारण जनकपुर क्षेत्र तनावग्रस्त बनेको छ।