काठमाडौँ। पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालतबाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। विस्फोटमा २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले बताएका छन्।
उनले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थनमा धेरै जिल्ला अदालतहरू रहेको बताए। प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थल पुगी शव तथा घाइतेलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ।
केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार आक्रमणकारीहरू न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि अन्ततः परिसरबाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ। अहिले फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान प्रक्रिया सुरु गरेको छ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।