काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२५ कार्तिक २०८२
अ+
अ-

सुर्खेत। प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तर्क्रिया’ सुरु भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आजदेखि दुईदिन चल्ने छलफलको उद्घाटन मुख्यमन्त्री यामलाल कँडेलले गरे। उनले संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार अगाडि बढ्नुपर्ने धारणा राखे। संविधानको भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढंगले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तर्क्रिया सञ्चालन गरेको बताए।

अन्तर्क्रियामा सरकारको नियमित काम-कारबाहीका विषयमा गाउँपालिका तथा नगरपालिका राष्ट्रिय महासंघ नेपालका पदाधिकारीहरुसँग पनि बसेर छलफल गरिने तयारी छ। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रनारायण यादवले एउटै जिल्लाबाट सात हजारभन्दा बढी योजना आउने संस्कृतिले विकासको अपरिहार्यता पहिचान हुन नसकेको बताए।

राजस्व बाँडफाँड, विशेष, समपूरक, ससर्त अनुदानको कार्यान्वयनमा आएका समस्या, स्थानीय तहका कर्मचारी व्यवस्थापन, कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा बृहत् छलफल गरी आगामी नीति, बजेट तथा कार्यक्रम तर्जुमाको मार्ग तयार गर्ने प्रमुख सचिव यादवले बताए। अन्तर्क्रियामा दश जिल्लाका समन्वय समिति प्रमुख/उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख/उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ।