काठमाडौँ
००:००:००
२६ मंसिर २०८२, शुक्रबार

२५ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै धम्काउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर क्षेत्रका बासिन्दालाई आफू अख्तियारको उपसचिव हुँ भन्दै किर्ते कागजात प्रयोग गरी धम्काउने गरेका थिए। पछि यही सूचनाका आधारमा खटिएको टोलीले ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरेको हो।

उनी शिखर नगरपालिका ४‚ डोटी घर भई अहिले तारकेश्वर नगरपालिका ७‚ फुटुङमा बस्दै आएका थिए। प्रहरीले उनलाई तारकेश्वर नगरपालिका ९‚ टुसाल चोकबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी भएको खुलेको छ।

उनको साथबाट प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलगायतका लेटरप्याडका ६ वटा पाना‚ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा पाना लेटरप्याड‚ विभिन्न बैंकका स्टेटमेन्ट र एटीएम कार्डहरूलगायत बरामद गरेको छ। प्रहरी उपरीक्षक भट्टराईका अनुसार महराविरुद्ध किर्ते कार्य र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको छ।