काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ कार्तिक २०८२
अ+
अ-

पोखरा। पोखरा महानगरपालिका र जापानको ओत्सुकी नगरबीच अनुभव आदान-प्रदान गरिएको छ।

मंगलबार भएको भेटमा दुवै नगरबीच अनुभव आदानप्रदानका साथै दुइपक्षीय पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको हो।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुवै नगरबीच विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा पोखराजस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान सम्बन्धमा छलफल भएको बताए।

ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगरबीचमा भएको पर्वतीय नगर मित्रताको समझदारीपत्र नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए।

पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायम प्रति प्रतिबद्ध रहने गरी पर्वतीय नगर मित्रताका लागि समझदारी भएको थियो।

टोलीमा ओत्सुकी नगरका प्रमुखसहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानुन विभागका प्रमुख हाजिमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल जापान फेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओकाको सहभागिता थियो।

पोखरा महानगरपालिकाका तर्फबाट नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुंगाना र वडासदस्य पूर्ण न्यौपानेको सहभागिता थियो।