महोत्तरी। छिमेकी भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमानाकाको आवागमन नियमित भएको छ।
भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा आज (मंगलबार) मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो। आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहित सीमावर्ती नेपालका बजारबाट दशगजापारिका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउजाउ गर्न थालेका छन्। महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधानसभा क्षेत्रमा मंगलबार मतदान सम्पन्न भएसँगै सीमा खुला गरिएको हो।
सीमाक्षेत्रमा दुवै तर्फका सर्वसाधारण घुमफिर, किनमेल र नातासम्बन्धका परिवारजनसँग भेटघाटका लागि आउजाउ गर्ने यहाँको बाक्लै चलन छ। बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुवैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए।
महोत्तरीसँग भारतको बिहार राज्यका मधुवनी र सीतामढी सीमा जोडिएका जिल्ला हुन्। यी दुवै भारतीय जिल्लासँगको सीमा दूरी करिब ३९ किलोमिटर छ। सीमा क्षेत्रमा महोत्तरीतर्फ दोहोरो आउजाउका १० भन्दा बढी नाका छन्। यी सबै नाकाबाट अहिले दोहोरो आउजाउ खुलेको छ।