करुणा फाउन्डेसन नेपाल र द ह्यान्ड प्रोजेक्ट जर्मनीको सहकार्यमा आयोजित शिविरमा कोसी प्रदेशका अपांगता भएकालाई २०४ वटा हात जडान तथा वितरण गरियो।
इटहरी। करुणा फाउन्डेसन नेपाल (करुणा नेपाल) र द ह्यान्ड प्रोजेक्ट जर्मनीको सहकार्यमा अपांगता भएका १९९ जनालाई नि:शुल्क कृत्रिम हात जडान तथा वितरण गरिएको छ।
इटहरीमा १७ देखि २६ कात्तिकमा आयोजना गरिएको निःशुल्क कृत्रिम हात नापजाँच, जडान तथा वितरण शिविरमा १४ जिल्लाका १९९ जना अपांगता भएका व्यक्तिलाई २०४ वटा हलुका तथा सहजै प्रयोग गर्न सकिने कृत्रिम हात निःशुल्क वितरण गरिएको करुणा नेपालले जनाएको छ। करुणा नेपालका अनुसार तीमध्ये ५ जनालाई दुवै हात नापजाँच, जडान तथा वितरण गरिएको थियो।
शिविरमा सहभागी लाभग्राहीमा झापा ४७, उदयपुर २३‚ सुनसरी २०, खोटाङ २०, ओखलढुंगा १४, पाँचथर १२, मोरङ १९, भोजपुर १०, सोलुखुम्बु नौ, तेह्रथुम नौ, ताप्लेजुङ ६, धनकुटा पाँच, इलाम दुई, संखुवासभाका दुईजना र काठमाडौंका एकजना छन्।
शिविरमा न्युजिल्यान्ड र युगान्डाबाट आएका प्राविधिक टोलीले लाभग्राहीको आवश्यक्ताको नापजाँच गरी हात जडान गरिदिएपछि कृत्रिम हातको प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षणसमेत दिएका थिए।
लाभग्राहीले कृत्रिम हात प्राप्त गरेपछि आत्मविश्वास, स्वावलम्बन र सक्षम जीवनतर्फ अघि बढ्न प्रेरित भएको प्रतिक्रिया दिएका थिए। नौ चलेको शिविरमा कोसीका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई, प्रदेशसभा सदस्य इश्राइल मनसुरीलगायतको उपस्थिति थियो।
आगामी दिनमा पनि अपांगता भएका व्यक्तिको सशक्तीकरण, पुनःस्थापना तथा अधिकार प्रवर्द्धनका क्षेत्रमा निरन्तर सहकार्य जारी रहने करुणा नेपालले प्रतिबद्धता व्यक्त गरेको छ।
