काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।
राष्ट्रिय सभागृहमा बुधबार आयोजित भीमबहादुर रावलको समूहलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा नेपालले यसबाट आत्तिएका केही शक्तिको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। “यो एकताको अभियानले नेपालको राजनीतिमा तरंग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको त सातो गएको हुनुपर्छ, उनीहरूको होस-हवास नै गुम भएको हुनुपर्छ‚” उनले भने।
“एकता गर्न सजिलो छ, तर त्यसलाई बलियो बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ”
गालीगलौजमा उत्रिनुको सट्टा कम्युनिस्ट आन्दोलनलाई सच्याउने अभियानमा लागेकामा आफूहरूलाई धन्यवाद दिन विपक्षीहरूलाई नेपालले आग्रह गरे। उनको कटाक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित थियो। उनले भने‚ “होस गुमाउनु आवश्यक छैन। गालीगलौजमा उत्रिनु पनि आवश्यक छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्। मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ।”
नेता नेपालले विगतका गल्तीबाट पाठ सिक्दै नयाँ पार्टीलाई विकृति र विसंगतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले ३ जेठ २०७५ मा भएको तत्कालीन नेकपाको एकता ऐतिहासिक भए पनि त्यसलाई जोगाउन नसकिएको तितो यथार्थ स्वीकार गरे। उनले भने‚ “एकता गर्न सजिलो छ, तर त्यसलाई बलियो बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ।”