काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ कार्तिक २०८२
फाइल फोटो
अ+
अ-

बाँके। बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ।

पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए। “पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ”, उनले भने, “अहिले निर्माण चालु छ, हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।”

उनका अनुसार नेपालगञ्जको गणेशमान चोकदेखि रिमझिम चोकसम्म सडक कालोपत्रे भइसकेको छ। रिमझिम चोकदेखि गौघाटसम्मको भागमा कालोपत्रे भइरहेको छ । यो सडक मुख्यतः बाँके र बर्दिया जिल्लाका जनताले आवतजावत गर्दछन्।

सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिकासहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडकखण्ड निर्माण धमाधम खजुरा गाउँपालिकाका अगुवा भीम ओलीले बताए।

उनका अनुसार, यसअघि खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिँदै आएका छन् । स्थानीयको निरन्तरको खबरदारी र दबाबपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो।