काठमाडौँ। उपत्यका ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ६ जना चालकलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार सुकेधारामा नियमित चेकजाँचका क्रममा चालकहरूलाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।
पक्राउ पर्नेमा पठाओ चालकसमेत रहेका छन्। पठाओ चालक झापा अर्जुनधारा नगरपालिका-६ का ३९ वर्षीय शेखरनाथ घिमिरेलाई लागुऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा पक्राउ गरिएको सुवेदीले बताए।
यस्तै, अन्य पक्राउ पर्नेमा पचरौता नगरपालिका-६ बाराका ३३ वर्षीय साजिद अन्सारी, नुवाकोट बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, बनेपा नगरपालिका-३ काभ्रेका ४७ वर्षीय सुरजकुमार बजगाईं, मकवानपुर थाहा नगरपालिका-४ ३२ वर्षीय कपिल थापा र सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेका छन्।
“यात्रु बोक्नेजस्तो संवेदनशील विषयमा चालकले लागुपदार्थ सेवन दण्डनीय अपराध गरेको हुँदा कानुनी कारबाहीको लागि प्रहरी कार्यालयमा पठाइएको छ,” सुवेदीले भने।
ट्राफिक प्रहरीले आफू चढेको सवारीसाधनका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा खबर गर्न अनुरोध गरेको छ।