सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका ४‚ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज (बुधबार) दिउँसो दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। थप चारजना सख्त घाइते भएका छन्।
भीमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ प २१४२ नम्बरको मोटरसाइकल तथा म.प्र.०२-००६ प ५८४१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा सख्त घाइते भएका दुधौली नगरपालिका ११‚ टाडीका ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका ३ का २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो।
त्यस्तै दुर्घटनामा दुधौली ३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनील माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन्।
सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये तीनजना बोल्नसमेत नसक्ने अवस्थामा छन्।
दुर्घटनाग्रस्त म.प्र.०२-००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको छ। ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन्।