२७ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्ने निवेदनमा प्रमाण झिकाउने आदेश भएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा धरौटी बुझाएर साधारण तारेखमा बसेर मुद्दा लड्न पाउने माग गर्दै रवि लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ भएको थियो।

उच्च अदालतका न्यायाधीशद्वय वाशुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्चमा भएको मूल मुद्दाको सक्कल मिसिल प्रमाण झिकाउने आदेश भएको रविका तर्फबाट कानुनी पैरवी गरिरहेका अधिवक्ता नारायणदत्त कँडेलले जानकारी दिए।

आचार्य र अर्यालको इजलासले दोस्रोपल्ट सक्कली मिसिल झिकाउने आदेश गरेको हो। यसअघि २० कात्तिकमा न्यायाधीशद्वय आचार्य र अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको स्क्यान कपी र जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको थियो। बिहीबारको सुनुवाइमा सुनुवाइमा रविका तर्फबाट नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गरेका थिए।

त्यस्तै छविलाल जोशीका तर्फबाट उनकै छोरा रोचक जोशीले बहस गरेका थिए। सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र उपन्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गरेका थिए। जेन-जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल जोगिएको थियो।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन्।