काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्न पाएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन्।
त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो संगठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेन-जी आन्दोलनका घाइते तथा जेन-जी प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा घाइतेहरूले उपचारको प्रबन्ध र जेन-जीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए।